फिफा विश्वकप विजेता तथा इटालीका पूर्व कप्तान जियानलुइजी बफोन नेपाल आउने भएका छन्।
नेपाल युवा संघको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा बफोन नेपाल आउन लागेका हुन्। संघका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भइसकेको जानकारी दिएका छन्।
तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता यही फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुँदैछ। सो प्रतियोगिताको फाइनल खेलका लागि बफोन काठमाडौं आउने तय भएको आयोजक पक्षले जनाएको छ।
यसअघि ब्राजिलका चर्चित फुटबल खेलाडीहरू रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई नेपाल ल्याउने योजना भए पनि उनीहरू नआउने भएपछि बफोनलाई आमन्त्रण गरिएको राष्ट्रिय युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए। उनका अनुसार बफोन नेपाल ल्याउने विषयमा सम्झौता पनि भइसकेको छ।
बफोन नेपाल आउने फुटबल इतिहासकै महत्वपूर्ण क्षण हुनेछ। उनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका बफोन सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्। साथै, उनले ८० खेलमा इटालीको कप्तानी गरेका थिए।
बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका छन्। केपी ओली कपको तेस्रो संस्करणमा दुई विदेशी टोलीसहित विभिन्न क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका क्वार्टरफाइनल खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ।
संघका सचिव पौडेलका अनुसार बफोनलाई फागुन १७ गते (मार्च १) नेपाल ल्याउने तयारी भइरहेको छ। बफोनले दशरथ रंगशालामा हुने फाइनल खेल अवलोकन गर्नेछन्।