"प्रकृतिको लागि न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।" भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा वीरगञ्जमा नेपाली विद्यार्थीहरूले मौन जुलुस निकालेका छन्।
शुक्रवार भएको उक्त प्रदर्शनमा किट विश्वविद्यालयबाट निष्कासित झन्डै ५० भन्दा बढी विद्यार्थी सहभागी भए। उनीहरूलाई वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूले ऐक्यबद्धता जनाउँदै साथ दिए। विद्यार्थीहरूले न्यायको माग गर्दै कालो पट्टि बाँधेर, मुखमा कालो मास्क लगाई शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए।
२० वर्षीया प्रकृति लम्साल फागुन ४ गते विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गर्ने कार्य भएको थियो। सोही अन्यायको विरोधस्वरूप विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माईस्थान, आदर्शनगर, नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सासम्म पुगेको थियो। विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालय प्रशासनको गैर-जिम्मेवार व्यवहारको कडा विरोध जनाएका थिए।
विद्यार्थीहरूले प्रकृति लम्साललाई मानसिक तथा शारीरिक यातना दिएको आरोप लागेका व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गरे। साथै, नेपाली विद्यार्थीहरूका लागि सुरक्षित शैक्षिक वातावरणको सुनिश्चितता, निष्पक्ष शैक्षिक प्रक्रिया, र किट विश्वविद्यालय फर्किन चाहने नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए।
विद्यार्थीहरूको गम्भीर मागप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस विषयलाई सम्बन्धित निकायमा पुर्याइने प्रतिबद्धता व्यक्त गरे। उनले न्यायको पक्षमा दृढ रहेको बताउँदै, प्रकृति लम्सालको मृत्युसम्बन्धी छानबिन पारदर्शी रूपमा अघि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक कूटनीतिक पहल गरिने आश्वासन दिए।
घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षासँगै नेपाल–भारतबीचको शैक्षिक सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीहरूले यदि न्याय नपाए आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्, जसले नेपाल सरकारलाई थप कूटनीतिक पहल गर्न बाध्य बनाएको छ।