"अमेरिकाले भ्रष्टाचारी भनिसक्यो, भारतले भिकारी भनिसक्यो, चीनले त मान्छे नै गन्दैन!" काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै उनले आफूलाई मेयरको रूपमा नहेरी सामान्य नेपाली नागरिकको रूपमा बाँच्न पाउने अधिकार दिन आग्रह गरेका छन्। "मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्," उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा सङ्घीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए। उनले नेपाललाई 'ठगी' को संज्ञा दिँदै सहायता रोकिएको बताएका थिए। यही प्रसङ्गलाई जोड्दै मेयर शाहले प्रधानमन्त्री ओलीलाई सम्झाएका हुन्।
त्यसैगरी, भारतको ओडिशा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे सङ्केत गर्दै उनले "भारतले भिकारी भनिसक्यो" भनेको बुझ्न सकिन्छ।
यसअघि पनि मेयर शाहले अमेरिकी डाइभरसिटी भिसा (डीभी) रोक्न राष्ट्रपति ट्रम्पलाई नै अनुरोध गरेका थिए। बिहीबार राति उनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई "डीभी चिट्ठा रोकेर संसारलाई अघि बढ्न दिन आग्रह" गरेका थिए।
"कृपया आफ्नो लोभ (डीभी) दासत्व पनि रोक्नुहोस्। हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौं। बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघि बढ्न दिनुहोस्," उनले फेसबुकमा लेखेका थिए।
उनको यी लगातारका कटाक्षपूर्ण पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसले नेपाल सरकारको कूटनीतिक असहजतालाई फेरि सतहमा ल्याइदिएको छ।