इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान बनाइसकेका छन्। त्यसकारण, आजको खेल फाइनलअघिको तयारीका रूपमा रहनेछ।
म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले पराजित गरेको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले पराजित गरेको थियो।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारविरुद्धको खेल टोलीको रणनीति बुझ्न महत्त्वपूर्ण हुने बताउँदै यसैअनुसार फाइनलको योजना बनाउन मद्दत पुग्ने बताएका छन्।
नेपाल र म्यानमारबीच अहिलेसम्म तीन खेल भएका छन्, जसमा एक बराबरी खेल्दा नेपाल दुई खेलमा पराजित भएको छ। म्यानमारले यी खेलहरूमा जम्मा ७ गोल गर्दा नेपालले मात्र २ गोल गर्न सकेको छ।
सन् २०१९ मा भारतमा आयोजित हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने फाइनलमा ३-१ ले हार ब्यहोरेको थियो। त्यसअघि, सन् २०१८ मा सम्पन्न ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो।
यसै च्याम्पियनसिप अन्तर्गत आजै दिउँसो २ बजे लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीका लागि यो खेल सान्त्वना जितको अवसर हुनेछ।