नवौं प्याब्सन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार तीनवटा खेल सम्पन्न भएको छ । नारायणी क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिता खेलमा गुरुकुल एकेडेमी, लिटिल फ्लावर र विकन स्कूल विजयी भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए । पहिलो खेलमा गुरुकुलले माउन्ट एडमन्डलाई ११ रनअन्तरले पराजित ग¥यो । गुरुकुलले १५ ओभरमा पाँच विकेट गुमाएर १ सय १९ रन बनाएको थियो भने माउन्ट एडमन्डले १५ ओभरमा नौ विकेट गुमाएर १सय ८ रन बनाउन सफल भएको छ । उक्त खेलमा साजिद अन्सारी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।
दोस्रो खेलमा लिटल फ्लावरले १५ ओभरमा एक विकेट गुमाएर १ सय ६० रन बनायो । नेपाल काभेरी १४.४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा सीमित भएको छ । दोस्रो खेलमा कृष्ण साह ‘म्यान अफ द म्याच’ घोषित भए । तेस्रो र अन्तिम खेलमा हिमालय पिरामिडले ११.३ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनायो भने विकनले ४.४ ओभरमा तीन विकेटको नोक्सानीमा ५३ रन बनाएर जीत निकाल्यो । यो खेलमा साजिद मियाँ ‘म्यान अफ द म्याच’ घोषित भए । विपद् व्यवस्थापन मधेश प्रदेश प्रहरी कार्यालय मैदानमा जारी प्याब्सन, राज होजियारी जुनियर फूटबल प्रतियोगितामा नवदीप, लिटिल फ्लावर, ज्ञानज्योति र ठोरी एकेडेमी विजयी भएका छन् ।
नवदीपले सफललाई शून्यका विरुद्ध एक गोल, लिटिल फ्लावरले एमइएसलाई शून्यका विरुद्ध आठ गोल, ज्ञानज्योतिले लिटल एन्जललाई शून्यका विरुद्ध एक गोल र ठोरी एकेडेमीले ब्लू हेभेनलाई शून्यका विरुद्ध आठ गोल गरी विजयी भएको प्याब्सन सचिव सङ्ग्रौलाले बताए ।
नेपाल मेडिसिटी प्याब्सन इन्टर स्कूल टी–२० नकआउट क्रिकेट प्रतियोगितामा शुक्रबार भएको फाइनल खेलमा माउन्ट मकालु, विद्या सागर र साउथ जोन स्कुुल विजयी भएका हुन् । पहिलो खेलमा माउन्ट मकालुले सिद्धार्थ इन्टरनेशनल स्कूललाई ३४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको माउन्ट मकालुले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । १ सय २५ रनको लक्ष्य पछ्याएको सिद्धार्थ इन्टरनेशनल स्कूल १५ ओभरमै ९ विकेट गुमाएर ९० रनमा सीमित भयो । खेलको ‘प्लेयर अफ द म्याच’ माउन्ट मकालुका कन्हैया यादव घोषित भए ।
दोस्रो खेलमा नवदीप र विद्या सागर स्कुलको प्रतिस्पर्धा भएको थियो । टस जितेर नवदीपले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको विद्या सागरले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । १ सय ५३ रनको लक्ष्य पछ्याउँदै नवदीप १०.४ ओभरमै ५३ रनमा अलआउट भएको छ । विद्या सागर स्कुलले ९९ रनले जित हात पार्न सफल भएको छ । उक्त खेलमा विद्या सागरका मोहताब आलम ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।
तेस्रो खेलमा साउथ जोन र लिटिल एन्जल्सबीच भएको रोचक प्रतिस्पर्धामा टस जितेर लिटिल एन्जल्सले पहिलो ब्याटिङ गर्दै १५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । साउथ जोनले १३.३ ओभरमा ५ विकेट छँदै १ सय ५ रनको लक्ष्यमा पुग्न सफल भएको थियो । खेलमा साउथ जोनका बिक्की यादव ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । सबै प्लेयर अफ दी म्याच भएका खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए ।