आइसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतीक्षित खेलमा भारत र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि भारतले सुरक्षाका कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि उसका सबै खेल युएईमा आयोजना गरिएका छन्। यसैअनुसार, भारत र पाकिस्तानबीचको खेल आज दिउँसो २:४५ बजे (पौने तीन) देखि दुबईमा सुरु हुनेछ।
२९ वर्षपछि पाकिस्तानमा आइसिसी प्रतियोगिता आयोजना भएको भए पनि भारतविरुद्धको खेल उसले आफ्नै भूमिबाट बाहिर खेल्नु पर्ने बाध्यतालाई स्वीकार्नुपरेको छ। समूह ‘ए’ मा रहेका यी दुवै टोलीले यसअघि एक-एक खेल खेलिसकेका छन्। भारतले बंगलादेशलाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो भने पाकिस्तानले घरेलु मैदानमै न्यूजिल्याण्डसँग पराजय ब्यहोरेको थियो।
सेमिफाइनल सम्भावना जिवित राख्न पाकिस्तानमाथि दबाब
आजको खेल पाकिस्तानका लागि निकै महत्वपूर्ण छ। सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न पाकिस्तानलाई भारतविरुद्ध जित निकाल्नै पर्ने दबाब छ।
एकदिवसीय क्रिकेटमा पछिल्लो आठ वर्षमा यो पाकिस्तानले भारतसँग तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो। सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा पाकिस्तानले भारतमाथि १८० रनको शानदार जित निकालेको थियो। तर, सन् २०२३ को एकदिवसीय विश्वकपमा भारतले घरेलु मैदानमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।
सन् २०११ यता भारत र पाकिस्तानबीच टी-२० र एकदिवसीय गरी कुल १३ खेल भएका छन्, जसमा भारतले ११ खेल जितेको छ भने पाकिस्तानले मात्र दुई खेल जित्न सफल भएको छ। पाकिस्तानका लागि सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा १८० रनको जित र सन् २०२१ को टी-२० विश्वकपमा १० विकेटको जित भारतविरुद्धका स्मरणीय प्रदर्शन हुन्।