रेस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जको कार्यकारी निर्देशकमा शिवनाथ यादव नियुक्त भएका छन्।
माघ ८ गते बसेको रेस नेपालको सञ्चालक समितिको बैठकले यादवलाई कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएको हो। संस्थाका अध्यक्ष गोविन्द देवकोटाले यादवलाई उक्त पदमा नियुक्त गरिएको जानकारी दिएका छन्।
यादव २०६६ सालदेखि नारायणी एफ.एम.मा कार्यक्रम प्रस्तोता, समाचार वाचक तथा कार्यक्रम संयोजकका रूपमा सक्रिय रहँदै आएका थिए। लामो अनुभव र योगदानलाई कदर गर्दै सञ्चालक समितिले उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
आज एक कार्यक्रमका बीच सञ्चालक समितिले नवनियुक्त कार्यकारी निर्देशक यादवलाई स्वागत गरेको छ। स्वागत कार्यक्रममा सञ्चालक समिति अध्यक्ष गोविन्द देवकोटा, सचिव अरविन्द सिंह, कोषाध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, भानु अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष देवकोटाले यादवको नेतृत्वमा नारायणी एफ.एम.लाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। सचिव सिंहले हाल सामुदायिक रेडियो सञ्चालनमा धेरै चुनौतीहरू रहेको भन्दै यसको दीगो विकासका लागि नयाँ आर्थिक स्रोतको खोजी गर्नु आवश्यक रहेको बताए। कोषाध्यक्ष पोखरेलले नारायणी एफ.एम. आम श्रोतामाझ लोकप्रिय रहेको उल्लेख गर्दै यसलाई अझ मजबुत र प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।
यादव केही दिनअघि सम्पन्न नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको सदस्यमा निर्वाचित भएका थिए। साथै, उनी मानव अधिकार संगठन पर्साको सचिवको जिम्मेवारीमा समेत छन्।