विवाहको उमेरलाई लिएर सदनमा विवाद उठेको छ । प्रेम विवाह गर्ने केही जोडीहरुको कारणले गर्दा विवाहको उमेर घटाउन प्रस्ताव गरिरहेको छ । यो यर्थात भने पक्कै होइन । कुनै पनि अध्ययन अनुसन्धान नै नगरी सही गलत के हो छुट्याउन गाह्रो हुन्छ । सरकारले चालेको कदमले कतै मेहनती, संघर्षशील छोरीहरुलाई बाधा त पुग्दैन भन्ने विषयमा चिन्तन आवश्यक छ । सरकारको विहेवारी २० पारी भन्ने नीतिले पूर्णता पाउन अझै सकेको अवस्था छैन । बाल विवाहको विषयलाई टेवा पु¥याउने गरी उमेर घटाउने संसदमा अभ्यास गरिदैछ । बालविवाहलाई रोक्नका लागि कानुनी व्यवस्थाहरू भए पनि व्यवहारमा यसको कार्यान्वयन चुनौतीपूर्ण नै छ । संसदमा विवाहको उमेर १८ वर्षमा झार्नु पर्ने तर्क गरिँदै आएको छ । यस प्रस्तावका समर्थकहरूले नागरिकता, मतदान, र विवाहको उमेरलाई समान बनाउनु पर्ने आवश्यकतालाई जोड दिएका छन् । आलोचकहरू १८ वर्षको उमेरमा मानसिक, शारीरिक, र आर्थिक परिपक्वता नआउने तर्क गर्दै प्रस्तावको विरोध गरिरहेका छन् । भूइँतहका महिला अधिकारकर्मी, जनप्रतिनिधि लगायत विभिन्न तह, तप्काका महिलाहरुले विवाहको उमेर २० वर्ष नै सरकारले राख्नु पर्ने तर्क गरेका छन् ।
ममता महतो (उपाध्यक्ष)
पटेर्वासुगौली गाउँपालिकासरकारमा विवाहको उमेरको विषयमा विवाद आएको छ । समुदायका व्यक्ति र सोचले गर्दा विवाद निम्त्याएको बताइन् । सरकारले बनाएको कानून राम्रो छ । महिलाको विवाहको उमेर बीस वर्ष हुदाँ शारिरीक रुपले पनि तन्दुरुस्त भएको र शैक्षिक रुपले पनि स्नाहतक तहको अध्ययन पुरा गर्ने भएकोले आत्मनिर्भर हुने, आत्म विश्वासको कुरा बढेर जान्छ । सक्षम नारी भएर मात्र विवाह गर्नु पर्छ भन्ने सोच, विचार छोरीहरुमा हुन्छ । २० वर्ष पछिको विवाहलाई नै कानूनी मान्यता दिएको राम्रो हो । समाजमा पितृसतात्मक सोच भएका केही व्यक्तिहरुले महिलाहरु बिग्रिए, छोरीहरु भागेर गए भन्ने कुराहरुलाई उठाए । तर सर्भेक्षणका अनुसार एउटा कक्षामा सय जना छोरीहरु अध्ययन गर्छन् भने त्यसमा चार जना मात्र भागि विवाह गरेका छन् । बाँकी ९६ जना आफ्नो गन्तव्यमा लागेर अध्ययनलाई निरन्तरता दिएर अध्ययनलाई पुरा गरिरहेको बताइन् । सर्भेक्षणको तथ्यांक हेर्दा छोरीहरु आत्मनिर्भर भएर मात्र विवाह गर्ने सोच बनाइरहेकाले ढिलो विवाह गर्ने चलन बढ्दै गइरहेको छ । छोराले जबसम्म पढाई पुरा गर्दैन । आत्म निर्भर हुदैन । तबसम्म विवाहको उमेर कति हो भनेर सोध्दैनौं । छोरीलाई नै विवाह गर्न किन हतार गरिरहेको छौं । छोरीहरुलाई पनि पढ्न र आत्म निर्भर बन्नकोलागि समय दिनु पर्छ । शारिरीक, मानसिक, आर्थिक रुपले सबल हुनलाई हामीले सहयोग गर्नुपर्छ । विहावारी बीस वर्षपारी गर्नु नै उत्तम हुन्छ । १८ वर्ष विवाहको उमेर राख्दा ग्रामिण भेगका गरिब, दलित र विपन्न वर्गका छोरीहरु समस्यामा पर्छन् । हाम्रो लागि होइन, निमुखा वर्गको पहुँचको कमी भएको समुदायको छोरीहरुलाई उकास्न, उनीहरुको स्वास्थ्यको दृष्टिकोणले राम्रो गराउन छोरीको उमेर बीस वर्ष पारी नै विवाह गर्दा राम्रो हुन्छ । बीस वर्षभन्दा अगाडी विवाह गरेका छोरीहरुको चाँडो बच्चा जन्माउने, विभिन्न किसिमको रोगहरु लागेको, श्रीमान श्रीमति दुबै जना एउटै उमेरका भएको हुनाले आर्थिक स्थिति कमजोर भएर परिवारमा तनाब र झै–झगडा अवस्था सृजना हुन्छ । यो कारणले गर्दा सम्बन्ध विच्छेद भएको छ । नीति, नियम, कानुन बनाउँदा निमुखा, विपन्न, असाहय, कमजोर र पहुँचबाट टाढा भएको व्यक्तिहरुलाई लागु गर्नुपर्ने बताइन् । समस्या, विवाद आइरहनु पर्छ त्यसलाई हामीले समाधान गर्नुपर्छ । समस्यालाई समाधान गर्न तर्फ जानु पर्छ । जुन नीति नियमले १ सय जनामा ८० जना लाभान्वित छ, भने २० जनाको लागि नियम र कानुनलाई नै तोडनु, परिवर्तन गर्नु नहुने धारणा राखेकी छन् ।
रिमा साह (निमित्त प्रमुख)
मधेश प्रदेश उद्योग विभाग, पर्सानेपाल सरकारको बरिष्ठ शाखा अधिकृतको रुपमा कार्यरत रिमा साह भन्छिन्, छोरीको विवाहको उमेर पहिला बीस थियो । अब पनि बीस वर्ष नै हुनुपर्छ । छोरीहरुको उमेर अठार वर्ष भनेको प्लस टु गरेर स्नाहतक पढ्न सुरु अवस्था हुन्छ । त्यो उमेरमा छोरीहरु परिपक्क भएका हुदैनन् । बीस वर्षको उमेरमा विवाह गर्दा छोरीहरुमा परिपक्कता बढ्दै गइरहेको हुन्छ । छोरीहरु मानसिक, शारिरीक रुपमा परिपक्क नभई १८ वर्षमा विवाह गर्दा उनीहरुको जीवनमा धेरै समस्याहरु निम्त्याउँछ । विवाहपछि छोरीहरुको शिक्षामा अवरोध हुन्छ । उनीहरुलाई कसरी परिवारमा घुलमिल गर्न, परिवारको सदस्यहरुको बारेमा बुझ्न सक्ने क्षमताको विकास भइसकेको हुदैन । शारिरीक रुपमा परिपक्क नभएकोले गर्भवती हुदाँ आमा र बच्चाको ज्यान समेत जोखिममा पर्ने भएकोले विवाहको उमेर २० वर्ष नै हुनु पर्छ । एउटा घर परिवर्तन हुन, घरको आर्थिक अवस्था सुदृढ हुन छोरीलाई शिक्षा आवश्यक छ । समाज परिवर्तनको बाहकको रुपमा छोरी भएकोले छोरीलाई शिक्षा दिन जरुरी छ । सरकारले २० वर्ष पारी विहेवारी भनेर अभियान चलाएको कारण धेरै मधेशका छोरीहरु सरकारी निकायमा पुग्न सफल भएका छन् । तसर्थ संसोधन अध्यादेशमा विवाहको उमेर २० वर्ष राखियोस् भन्ने धारणा राखेकी छन् ।
सुधा मिश्र (अध्यक्ष)
महिला जागृति मिसन, पर्सानेपाल सरकारको नीति तथा कानूनमा विवाहको उमेर २० वर्ष राखिएको थियो । अहिले विवाहको उमेर १८ वर्ष राख्नु पर्छ भनेर सरकारले संसोधन अध्यादेशमा ल्याउन लागेकोमा म विरोध गर्दछु । पहिला २० वर्षको उमेरमा विवाह हुने नीति हुदाँ पनि मधेशमा २० वर्ष अगाडी लुकिछिपी विवाह गर्ने र बच्चा जन्माउने गरेको पाएन्छ । छोरीहरुले राम्रोसंग शिक्षा आर्जन गर्न पाएका हुदैनन् । बीस वर्षमा पनि दुर्घटनाहरु धेरै भइरहेका छन् । ंमधेश प्रदेशमा बाल विवाहको संख्या अधिक छ । अझ विवाहको उमेर घटाउँदा बाल विवाहको संख्या मधेशमा अझै बढेर जाने हुन्छ । कम उमेरमा विवाह भएपछि छोरीहरुको शारिरीक अवस्था कमजोर हुने, मृत्यु हुन्छ । सानो उमेरमा विवाह गरेपछि मैले के गर्नुपर्छ, मेरो कर्तव्य के हो भन्ने कुराको बोध छोरीहरुमा भइसकेको हुदैन । आफूले के गर्नु छ भन्ने निर्णय गर्न सक्ने क्षमता पनि छोरीहरुसंग हुदैन । छोरी शिक्षित नभए समाजको बारेमा ज्ञान हुदैन । समाजसंग लड्न सक्ने क्षमता पनि हुदैन । त्यसैले सरकारमा छोरीको विवाहको उमेर १८ वर्ष चलिरहेको छ । यो विवाहको उमेर उपयुक्त छैन । छोरीको विवाहको उमेर १८ नराखियोस् भन्ने धारणा म लगायत मेरो समूहको पनि छ । सरकारले विवाहको उमेर २० कायम गरियोस् भन्ने जोडदार माग गरेकी छन ।
बबिता जयसवाल (अध्यक्ष)
महिला सञ्जाल, बाराविवाहको उमेरलाई लिएर संसद भवनमा भइरहेको विवादलाई समाधान गर्न मधेशको आवाज उठ्नु पर्छ । विवाहको उमेर २० वर्ष नै उपयुक्त हो । विवाहको उमेर घटाउने प्रस्ताव ल्याउनु निन्दनीय कदम हो । विवाहको उमेर घटाउँदा दलित, सिमान्तकृत समुदाय, मधेशी समुदायका विपन्न वर्गका छोरीहरुको सरकारको तर्फबाट उच्च शिक्षामा वञ्चित गर्न लागिएको हो । किशोरीहरुको प्रजनन् स्वास्थ्य, व्यवहार परिवर्तन विषयहरुमा नकारात्मक प्रभाव पार्ने गरी विवाहको उमेर १८ वर्ष ल्याउन खोज्नु निन्दनीय छ । प्रेम विवाह गर्नेको संख्या बढेकोले १८ वर्ष राखिनु पर्ने केही व्यक्तिले कुरा उठाएका छन् । १४ देखि १८ वर्षसम्मका एक हजार बालिकाहरुमा ५ प्रतिशत प्रेम विवाह गरेका छन् भने ९ सय ९५ जनाको अधिकारलाई हनन् गर्न मिल्दैन । प्रतिशत हेरेर सरकार, समाजले सोच्नु पर्छ । विवाहको उमेर २० वर्ष नै उपिचत भएकोले यसलाई नै यथावत राखियोस् भन्ने धारण राखेकी छन् ।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा पहिलो पटक विवाह गर्ने उमेरका आधारमा महिलाको विवाह गर्ने औसत उमेर पुरुषको तुलनामा निकै कम रहेको देखिन्छ । १० देखि १४ वर्ष उमेर समूहमा विवाह गर्ने महिलाको संख्या ९,१०,९३९ (१०.२०%) रहेको छ भने यस उमेरमा विवाह गर्ने पुरुषको संख्या मात्र २,१४,२६६ (३%) रहेको छ । १५ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने महिलाको संख्या १७,०३,३७६ (३०.४%) रहेको छ, जसमा पुरुषको संख्या ८,७२,४०१ (१२.३%) रहेको छ । यसैगरी, १८ देखि २० वर्ष उमेर नपुग्दै विवाह गर्ने महिलाको संख्या सबैभन्दा बढी ३१,९३,५२० ( ३५.९%) छ भने पुरुषको संख्या २३,१८,००६ (३२.६%) रहेको छ ।
सुशिला साह (फा.प्रिसिन्पल)
नवदीप एकेडेमी नेपाल सरकारले विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष राख्ने भन्ने संसोधन अध्यादेश ल्याएको छ । विवाहको उमेर १८ वर्ष उपयुक्त होइन । विवाहको उमेर १८ वर्ष हुदाँ छोरीहरुको शिक्षा, स्वास्थ्य र बौद्धिक तथा शारिरीक विकासमा असर पार्छ । १८ वर्षको उमेरमा प्लस टु मात्र अध्ययन गरेको हुन्छ । कम्तिमा स्नाहतक अध्ययन गर्न कम्तिमा २० वर्ष उमेर भएमा मात्र पुरा हुन सक्छ । यो समयमा सानो तिना काम गरेका हुन्छन् । छोराहरुलाई १८ वर्षमा विवाह गर्न दबाब दिन नसक्ने र भनेको पनि मान्दैनन् । विवाहको उमेर घटाउँदा छोरीहरु मात्र मारमा पर्छन । छोरीहरु परिवारको दवाबमा आएर विवाह गरिरहेको हुन्छ । सरकारले १८ नै विवाहको उमेर राख्ने हो भने मधेशमा अझै बालविवाहले जरो गाड्ने छ । विवाहको उमेर बीस बर्ष राख्दाँ पनि लुकीचोरी कम उमेरमा विवाह गरिरहेका छन् । बेटी पढाऊ, बेटी बचाऊ । विहावारी बीस पारी भन्ने नेपाल सरकारको संन्देशपूर्ण स्लोगन नै उपयुक्त छ । आफू विवाह गर्दा २२ वर्षको उमेरमा गरेको समयमा स्नाहतक अध्ययन गर्दै गरेको र बोडिङ्ग स्कुलमा पढाउदै गरेको अवस्थामा विवाह गरेको बताइन् । जब छोरीहरु परिपक्व भएका हुन्छन् तब मात्र आफ्नो बारेमा बोल्न सक्छन् । विवाहको उमेर वर्ष राख्न आग्रह गरिन् ।
किस्मती राम (अध्यक्ष)
दलित महिला संघ, बारा दलित समुदायको छोरीहरुलाई गैर दलितका जस्तो गरी बाहिर पठाएर पढाउन सक्ने क्षमता छैन । सरकारी विद्यालयमा दलित समाजले पढाउछौं । गैर दलित समाजका व्यक्तिहरु दलित समाजका छोरीहरुलाई गिद्ध नजर लगाउँछ । शारिरीक सम्बन्ध समेत राखेका हुन्छन् । विवाहको कुरा उठ्छ । जातियताको विषय आउँछ । दलितको छोरासंग गैर दलितको छोरी कोट म्यारिज गरेर विवाह गर्दा पनि केटी पक्षले उमेर घटाएर जबर्जस्ती करणीमा मुद्दा हालिदिन्छन् । दलित समुदायको लागि एकातर्फ राम्रो छ । अर्को तर्फ छोरीलाई उमेर पु¥याएर विवाह गर्न खोज्दा केटा नपाउने समस्या हुन्छ । दलित समुदायको उच्च शिक्षा पढाउने क्षमता हुदैन । पढेलेखेको केटा भएमा लेभल नमिल्ने, दाइजोको कुराहरु उठाएर विवाहको इन्कार गर्छन । दलित समुदायका छोरीहरुको लागि भने विवाहको उमेर १८ वर्ष नै उपयुक्त भएको बताइन् ।
अनिता कुमारी साह (प्रधानध्यापक )
श्री सुन्दरमल रामकुमार कन्या मा.वि नेपाल सरकारले विवाहको उमेर १८ वर्ष राख्नको लागि संसदमा उठाएकोमा भने म यसमा सहमत छैन । १८ वर्षमा छोरीहरु भरखरै एस.ई.ई गरेर प्लस टु मा पढ्न लागेका हुन्छन् । यो उमेरमा उनीहरुको विवाहको उमेर राखिन्छ । भने छोरीहरुले सहि ढंगले शिक्षा प्राप्त गर्न सक्दैन । उनीहरुको लक्ष्य प्राप्त गर्न सक्दैन । सरकारले विवाहको उमेर १८ वर्ष निर्धारित गर्छ भने त्यसको असर छोरीहरुमा पर्छ । केटाहरुको प्राय छिटो विवाह गर्न मान्दैनन् । अभिभावकले छोरीहरुको विवाह कम उमेरमा नै गर्ने सोच राखेका हुन्छन् । विवाहको उमेर २० हुदाँ छोरी उच्च शिक्षा हासिल गर्ने अवसर प्रशस्त पाउँछन् ।
डा. आमिर आलम
युवा नेता ( जसपा ) विवाहको लागि २० वर्ष उमेर नै उपयुक्त हो । १८ वर्षमा विवाह गर्दा समाजमा नकारात्मक असर परेको छ । छिटो विवाह गर्दा छोरीहरुको शिक्षामा असर पर्छ । गर्भवती हुदाँ के गर्ने, कुन समयमा बच्चा जन्माउन उपयुक्त हुन्छ । भन्ने विषयमा जानकारी हुदैन । समाजमा नकारात्मक असर पर्छ । सबै भन्दा बढी मुस्लिम र दलित समुदायका छोरीहरुको छिटो विवाह गरिदिए मुक्ति पाउने सोचले परिवारले बाल विवाहमा जोड दिएको बताए । यस्तो सोचले गर्दा समाज, देश पछाडी परेको उनको भनाइ छ । बाल विवाह प्रथालाई रोक्न, छोरी शिक्षित भएमा छोरीहरुको शारिरीक, मानसिक रुपमा स्वस्थ र आर्थिक रुपमा पनि सक्षम हुन्छन् भनेर नै नेपाल सरकारले २० वर्ष पारी विहावारी भन्ने नारा ल्याएको थियो । अहिले पनि २० वर्ष नै विवाहको उमेर राखिनु पर्छ भन्ने मान्यता छ ।
नुसरत खातुन
वीरगंज – १४,बहुअरीमुस्लिम समाजमा बढी बाल विवाह हुन्छ । त्यसले गर्दा छोरीहरु पढ्न पाउदैन । सरकारले विवाहको उमेर १८ वर्ष राख्छ भने मुस्लिम समुदायको छोरीहरुलाई हुन्छ । मुस्लिम समुदायमा छोरीहरुको छिटो विवाह गर्ने चलन छ । १८ वर्षमा विवाह गर्दा धेरै नकारात्मक असरहरु पर्ने गर्छ । यसले गर्दा शारिरीक तथा मानसिक दुवै पक्षमा नकारात्मक असर पर्छ । कम उमेरमा गर्भवती हुदाँ पाठेघरमा नकात्मक असर पर्छ । बच्चा हुदाँ खेरी अपाङ्ग र मानसिक स्वास्थ्य कमजोर भएको बच्चा जन्मन सक्छ । कमै उमेरमा हुदाँ कसरी बोल्ने, कस्तो व्यवहार गर्ने समेत चेतना नभएकोले सम्बन्ध नराम्रो हुन सक्छ । म १८ वर्ष भए १० कक्षामा अध्यनरत छु । अभिभावकले १८ वर्षमा नै विवाह गरिदिए भने अगाडीको पढाई छुट्ने छ ।