नेपाल सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले आर्थिक वर्ष २०८०/८१ का स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भई सम्पन्न भए तापनि भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।
यस्तै, पुलहरूको मर्मत सम्भारका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धमा सम्झौता तथा कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, २०८० वैशाख १ गतेयता मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई, बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला नपरेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय बैठकले गरेको प्रवक्ता गुरुङले जानकारी दिए।
बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने तथा एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने निर्णय गरेको छ।
त्यस्तै, फागुन १८ देखि २२ गतेसम्म भारतमा आयोजना हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय भएको छ।