महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमारबीच बुधबार निर्णायक भिडन्त हुँदैछ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित फाइनल खेल्न मैदान उत्रनेछन्।
मंगलबार आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिम फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताए। ‘पहिला खेलेका तीन खेल उत्कृष्ट रहे। अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने।
कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि टिमको आत्मविश्वास उच्च रहेको बताइन्। ‘अहिलेसम्मको प्रदर्शन राम्रो रह्यो। अब उपाधि जित्न फाइनलमा शतप्रतिशत दिन्छौं,’ उनले भनिन्।
उता, म्यानमारका प्रशिक्षक तेत्सुको युकीले फाइनलका लागि आफ्नो टिम तयारी अवस्थामा रहेको बताए। ‘हामी तयार छौं। आशा छ, राम्रो खेल हुनेछ,’ उनले भने। म्यानमारकी कप्तान वेन थेइङ्गी तुनले पनि टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।
फाइनल यात्रा: अपराजित नेपाल र म्यानमार
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा पुगेका हुन्। दुवैले दुई खेल जित्दै र एक खेल बराबरी खेल्दै समान ७ अंक जोडेका थिए। गोलअन्तरका आधारमा म्यानमार शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गर्यो भने नेपाल दोस्रो स्थानमा रह्यो।
नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० ले हराएको थियो। उता, म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले पराजित गर्यो। नेपाल र म्यानमारबीच भएको लिग चरणको खेल २-२ को बराबरीमा सकिएको थियो।
हेड-टु-हेड: नेपालले म्यानमारविरुद्ध जित निकाल्न सकेको छैन
नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेल भएका छन्, जसमा नेपाल कुनै पनि खेल जित्न सकेको छैन। म्यानमारले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको थियो।
यसै प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले २-२ को बराबरी खेलेका थिए। नेपालले तीन खेलमा जम्मा ४ गोल गर्दा म्यानमारले १० गोल गरिसकेको छ, जसले म्यानमारको आक्रमण क्षमतालाई दर्शाउँछ।
नेपालले घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक सफलता हात पार्ने अवसर पाएको छ। अब सबैको नजर बुधबारको फाइनलमा हुनेछ, जहाँ नेपालले पहिलो पटक म्यानमारविरुद्ध जित निकाल्ने अवसर पाउनेछ।