नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायलाई राज्यबाट प्राप्त संवैधानिक अधिकार माओवादी आन्दोलनकै उपलब्धि भएको बताएका छन्।
सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले उत्पीडित समुदायको सहभागितामा भएको जनयुद्धकै कारण राजनीतिक परिवर्तन सम्भव भएको र संविधानले धर्मनिरपेक्षतालाई संस्थागत गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न बनेको बताए।
उनले माओवादी आन्दोलनकै कारण उपेक्षित तथा उत्पीडित समुदायहरू बलियो बनेको उल्लेख गर्दै, आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्न माओवादी पार्टीलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखे।
अध्यक्ष प्रचण्डले अन्य दलहरूले जनताले प्राप्त गरेका अधिकार कुनै न कुनै बहानामा खोस्न चाहेको आरोप लगाउँदै, जनताको अधिकारमाथि हुने कुनै पनि षड्यन्त्रलाई विफल पार्न माओवादी पार्टी जनताको बलमा अघि बढ्ने बताए।
सिंहदरबारसम्म सीमा क्षेत्रका समस्या पुर्याउने उद्देश्यले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ सुरु गरिएको जानकारी दिँदै, यस अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने उनको भनाइ थियो।
कार्यक्रमका क्रममा हरिनगर-६ को मुस्लिम बस्तीका अगुवाहरूले ज्ञापनपत्र बुझाउँदै, सीमा क्षेत्रका समस्या समाधान तथा मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गरेका थिए। उनीहरूले साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग पनि राखेका थिए।