इंग्ल्यान्डका सीमित ओभरका कप्तान जोस बटलरले अफगानिस्तानविरुद्धको हारपछि आफ्नो कप्तानी भविष्यबारे पुनर्विचार गर्ने बताएका छन्। उक्त हारसँगै इंग्ल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौडबाट बाहिरिएको छ, जसले बटलरको नेतृत्वमाथि थप दबाब बढाएको छ।
इंग्ल्यान्डले २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टी–२० विश्वकप जितेपछि निराशाजनक प्रदर्शन गर्दै आएको छ। २०२३ को एकदिवसीय विश्वकपमा सातौं स्थानमा रहँदै समूह चरणमै बाहिरिएको इंग्ल्यान्ड २०२४ को टी–२० विश्वकपमा भारतसँग सेमिफाइनलमा पराजित भएको थियो। त्यसपछि जोनी बेयरस्टो, मोइन अली, रीस टोप्ले, साम करन र क्रिस जोर्डनजस्ता खेलाडीहरूलाई बाहिर गर्दै इंग्ल्यान्डले नयाँ खेलाडीहरूलाई अवसर दिएको थियो। साथै, ब्रेन्डन म्याकुलमलाई सबै फर्म्याटको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो।
बेन स्टोक्ससँगको साझेदारीमा म्याकुलमले टेस्ट क्रिकेटमा ल्याएको "बेजबल" शैली सीमित ओभर क्रिकेटमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको थियो। तर, भारतविरुद्धको शृंखला र च्याम्पियन्स ट्रफीमा इंग्ल्यान्डको प्रदर्शनले झन् धेरै प्रश्न उठाएको छ।
च्याम्पियन्स ट्रफीअघि इंग्ल्यान्डले भारतसँग टी-२० शृंखलामा ४-१ र एकदिवसीय शृंखलामा ३-० को हार बेहोरेको थियो। प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध ३५१ रनको ठुलो स्कोर बनाए पनि अष्ट्रेलियाले कीर्तिमानी लक्ष्य पूरा गर्दै जित हात पार्यो। त्यसपछि अफगानिस्तानविरुद्धको निर्णायक खेलमा इंग्ल्यान्डले केही अवसरहरू सिर्जना गरे पनि उपयोग गर्न सकेन, जसले अन्ततः टोलीलाई प्रतियोगिताबाट बाहिर पुर्यायो।
हारपछि आयोजित पत्रकार सम्मेलनमा बटलरले आफ्नो कप्तानीबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्। "परिणामहरू आशानुरूप छैनन्। मलाई व्यक्तिगत रूपमा विचार गर्नुपर्नेछ कि म समस्या हुँ वा समाधानको हिस्सा। म कुनै भावनात्मक निर्णय अहिले नै लिँदिँन। मलाई केही समय चाहिन्छ। माथिल्ला तहका मानिसहरूका आफ्नै विचारहरू हुनेछन्, तर इंग्ल्यान्डलाई पुनः प्रतिस्पर्धी बनाउनु हाम्रो मुख्य लक्ष्य हो," उनले भने।
बटलरको व्यक्तिगत फर्मसमेत चिन्ताजनक रहेको छ। २०२३ विश्वकपपछि खेलेका आठ एकदिवसीय पारिमा उनले ३०.५७ को औसतमा जम्मा २१४ रन बनाएका छन्, जसमा उनको सर्वाधिक स्कोर ५८८ रहेको छ। त्यस्तै, २०२४ टी(२० विश्वकपपछि खेलेका नौ पारिमा उनले ३०.११ को औसतमा २७१ रन बनाएका छन्, जसमा दुई अर्धशतक समावेश छन्।
"मैले केही अवसरहरू सिर्जना गरेको थिएँ तर तिनीहरूलाई ठूला पारिमा परिणत गर्न सकेको छैन। म आफ्नो उत्कृष्ट फर्ममा हुँदा विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुँ, तर हाल त्यस्तो प्रदर्शन गर्न सकिरहेको छैन," बटलरले अफगानिस्तानविरुद्धको आफ्नो ब्याटिङबारे प्रतिक्रिया दिए।
कप्तानीबारे बोल्दै बटलरले भने, "धेरैले मेरो कप्तानीलाई लिएर शंका गर्छन्, तर म नेतृत्व गर्ने कुरामा रमाउँछु। जब म कप्तान थिएन, तब पनि म नेतृत्वदायी भूमिका खेल्ने प्रयास गर्थें। तर, लगातार हार्नु कठिन हुन्छ। अहिले हाम्रो टोली जित्ने स्थितिमा छैन, जसले दबाब थपेको छ।"
अब इंग्ल्यान्ड क्रिकेट बोर्डले बटलरलाई कप्तानको रूपमा निरन्तरता दिने कि नयाँ नेतृत्व खोज्ने भन्ने विषयमा निर्णय गर्नुपर्नेछ।