मधेस प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार रहेको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड क्लबले सेमिफाइनल यात्रा तय गरेको छ। शनिबार आदर्शनगर रंगशालामा भएको उद्घाटन खेलमा भारतको गढवाल डायमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले पराजित गर्दै वीरगञ्ज अन्तिम चारमा प्रवेश गरेको हो।
खेलको ५१ औं मिनेटमा दिल्लीका खेलाडी सन्दीप रानाले आफ्नै गोलपोस्टमा आत्मघाती गोल गरेपछि सोही गोल निर्णायक बन्यो। पहिलो हाफमा वीरगञ्जलाई दवावमा राखेको दिल्ली दोस्रो हाफमा भने कमजोर देखियो। खेलको २० औं मिनेटमा वीरगञ्जले पेनाल्टीको अवसर पाए पनि कप्तान शिषष थापाले मौका गुमाए।

८५ औं मिनेटमा दिल्लीका अभय डेसिलाले वीरगञ्जको डिएरिया भित्रैबाट प्रहार गरेको बल बारमाथि गएको कारण दिल्लीले बराबरी गर्ने अवसर पनि गुमायो।

प्रतियोगिताको म्यान अफ दी म्याच वीरगञ्जका विपिन मगर घोषित भए, जसलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो।
शनिबारको खेलसँगै मेयर राजेशमान सिंहले प्रतियोगिताको औपचारिक उद्घाटन गरे। आठ टोली सहभागी यस प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ। विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

खेलाडीहरूको थकान र स्थानियको समर्थन
खेलपछि वीरगञ्ज युनाइटेड क्लबका प्रशिक्षकले भने, "हाम्रो खेलाडीहरू देशभरका विभिन्न प्रतियोगितामा सहभागी भइरहेका छन्। शुक्रबार राति मात्र अन्य प्रतियोगिताबाट वीरगञ्ज आइपुगेका खेलाडीहरू थकित भए पनि जित निकाल्न सफल भएका छौँ। स्थानीय दर्शकहरूको मायाले पनि हामीलाई हौसला प्रदान गर्यो।"
उनले आगामी खेलमा केही खेलाडी परिवर्तन गर्ने योजना रहेको पनि खुलाए। "हामी ‘बी डिभिजन’ को प्रशिक्षण गरिरहेका छौँ। अबको खेलमा रणनीति परिवर्तन गरेर मैदानमा उत्रनेछौँ," उनले थपे।
आइतबारको खेलमा काठमाडौंको संकटा क्लब र सिरहाको सलहेश फुटबल क्लब भिड्नेछन्।