प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको नवौं संस्करणको उपाधि मुनलाईट माविले उचालेको छ । वीरगन्जको नारायणी रंगशाला स्थित टीबी शाह क्रिकेट मैदानमा बुधबार भएको फाईनल खेलमा अन्तर विद्यालय क्रिकेटको उपाधी मुनलाईट मा.वि.ले उचालेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको मुनलाईट माविले प्रतिस्पर्धी विद्यासागर माविलाई १७ रनले पराजित गर्दै परिणाम आफ्नो पक्षमा पार्न सकेको थियो । मुनलाइट मा.वि.ले १७.४ ओभरमा सबै विकेट गुमाएर ११३ रनको विजयी योगफल तयार पारेको थियो । ११४ रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको विद्यासागर माविले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सकेको थियो । खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेण्ट, बेष्ट व्याटर र बेष्ट बलर पनि मुनलाईट माविका सेराज हवारी घोषित भएका थिए ।
त्यसै गरी वेष्ट विकेट किपर मुनलाईट मा.वि.कै अनुप कुमार, वेष्ट फिल्डर विद्यासागरका दिलराजन यादव र इमार्जिङ प्लेयर विद्यासागरकै जुनैद आलम घोषित भएका छन् । प्रतियोगितामा विद्यासागर दोश्रो र साउथजोन मावि तेश्रो भएका थिए । विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि संघीय सांसद तथा पूर्व वन मन्त्री डा.विरेन्द्र प्रसाद महतोले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दिपक शाक्य, मधेश प्रदेशको नीति आयोगका सदस्य डा.हरिशंकर साह, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याव्सन पर्साका पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, सेन्टरका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर र मध्य नेपाल मिडिया प्रा.लि.को सम्पादक कविता खड्का लगायत विभिन्न संचार माध्यममा आबद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।