वीरगञ्जस्थित साउथ सिटी हिमाल हस्पिटल प्रा. लि. र द हिमाल इन्स्टिच्युट अफ हेल्थ एण्ड टेक्निकल साइन्स प्रा. लि. मा अध्ययनरत द्वितीय वर्षका विद्यार्थीहरूले प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन्।
शनिबार संस्थाको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या भण्डारीका राजनीतिक सल्लाहकार तथा संविधानसभा सदस्य लाल बाबु प्रसाद यादव रहेका थिए। त्यस्तै, पूर्व सांसद तथा संविधानसभा सदस्य सरला यादव, विशिष्ट अतिथि विद्या यादव, संस्थाका प्रबन्ध निर्देशक नरेश प्रसाद यादव, प्रिन्सिपल तथा मेडिकल डाइरेक्टर डा. सन्देश कुमार यादव लगायत कलेजका अन्य पदाधिकारी, संकाय प्रमुख, प्रशिक्षक तथा अस्पतालका प्रशासनिक कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा सामान्य चिकित्सा, ल्याब टेक्निसियन, रेडियोग्राफी, नर्सिङ, फार्मेसी लगायत विभिन्न संकायमा अध्ययनरत प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरियो। स्वागतका क्रममा वक्ताहरूले विद्यार्थीहरूलाई स्वास्थ्य क्षेत्रमा समर्पित भएर अध्ययन गर्न प्रेरित गर्दै आगामी भविष्यको लागि शुभकामना व्यक्त गरे।
नव आगन्तुक विद्यार्थीहरूले कलेज प्रशासन र वरिष्ठ विद्यार्थीहरूबाट पाएको स्वागतलाई सकारात्मक अनुभवको रूपमा लिँदै आफूहरूलाई मिलेको नयाँ अवसरको सदुपयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूले संस्थाको प्रगति र स्वास्थ्य क्षेत्रमा यसले पुर्याउने योगदानबारे चर्चा गरेका थिए।

स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएसँगै कलेज प्रशासनले प्रथम वर्षका विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षाको सुनिश्चितता गर्दै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता दोहोर्यायो।
