राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन वीरगञ्जमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। निजी क्षेत्रको लगानीमा सञ्चालित विद्यालयहरूको भविष्य, शैक्षिक सुधार तथा नीति निर्माणका विषयमा व्यापक छलफल गर्दै महाधिवेशनले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। ३६ जिल्लाका १,५०० प्रतिनिधिहरूको सहभागितामा सम्पन्न महाधिवेशनले मुलुकको शैक्षिक क्षेत्रका चुनौतीहरू समाधान गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
महाधिवेशनमा मुलुकभरका ९०० विद्यालयका संस्थापक, प्रिन्सिपल तथा शिक्षा सम्बद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो। शिक्षा सुधार, दक्ष जनशक्ति उत्पादन, शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकासका लागि तालिम तथा विकास कार्यक्रम सञ्चालन गर्ने जस्ता विषयमा गहन छलफल भएको थियो। साथै, विद्यालयहरू अस्थायी प्रकृतिका भएकाले सामाजिक सुरक्षा कोषलाई हाल कार्यान्वयन गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै, यसको दीर्घकालीन समाधानका लागि आवश्यक पहलकदमी गर्ने निर्णय महाधिवेशनले गरेको छ।
महाधिवेशनले सर्वसम्मत रूपमा गीता क्षेत्री राणाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र मोहन भट्टराई, सूर्यबहादुर अधिकारी, बजेन्द्र मिश्र, सुबोध डाँगी र कमल बहादुर सिंह चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेती, धर्मराज रेग्मी र डा. नन्दन यादव निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी प्रताप बहादुर थापाले सम्हाल्ने भएका छन् भने कोषाध्यक्षमा कुबेर बस्नेत चयन भएका छन्। उपमहासचिवमा कृष्ण प्रसाद पौडेल र बम देव न्यौपाने चयन भएका छन् भने सह-कोषाध्यक्षको जिम्मेवारी महेन्द्र पुन र शिवदत्त तिवारीले सम्हाल्ने भएका छन्। सचिवहरूमा अली मोहम्मद अन्सारी, राजु रोकाया, राजु पाण्डे, विक्रम ढुकुछु, प्रकाश गैरे, तेन्जी भेटिया लगायत चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष गीता क्षेत्री राणाले पदभार ग्रहण गर्दै संस्थालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएकी छिन्। उनले निजी विद्यालयहरूको गुणस्तर अभिवृद्धि, शिक्षक तथा कर्मचारीहरूको क्षमता विकास, शिक्षा प्रणाली सुधार तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न आवश्यक नीतिगत पहल अघि बढाइने बताइन्। साथै, विद्यालयहरूको स्थायित्व, कानुनी संरचना र शैक्षिक नीतिहरूलाई समयानुकूल परिमार्जन गर्दै निजी विद्यालयहरूको सशक्त भविष्य निर्माण गर्न आफ्नो कार्यकाल समर्पित रहने उल्लेख गरिन्।
नेशनल प्याब्सनले आठौँ महाधिवेशनलाई मुलुकको शैक्षिक विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ। यस महाधिवेशनले लिएका निर्णयहरूले शिक्षाको गुणस्तर वृद्धिमा योगदान गर्ने र विद्यालय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।