सलहेश युवा क्लब सिरहाका प्रशिक्षकले भने, "हाम्रो टोलीको दृढ आत्मबलले जित सुनिश्चित गर्यो।" वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा सिरहाले सेमिफाइनलमा स्थान बनाएको छ।
आदर्शनगर रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सिरहाले काठमाडौंको संकटा फुटबल क्लबलाई टाइबेकरमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले कुनै गोल गर्न सकेनन्, जसका कारण खेल टाइबेकरमा धकेलिएको थियो।
टाइबेकरमा सिरहाका म्बोउमा एनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शीशीष लेखी र जय गुरुङले गोल गरे। संकटाका तर्फबाट सुनिल खड्का, राजिव लोप्चन र टिछिरिङ लामाले गोल गरे भने राम थापाले गरेको प्रहार सिरहाका गोलरक्षक विशाल सुनारले रोके।
निर्धारित समयमा खेल निकै प्रतिस्पर्धात्मक रह्यो। ७१ औं मिनेटमा सिरहाका विदेशी खेलाडी बेनिब्राहिमले संकटाको पेनाल्टी क्षेत्र नजिकैबाट प्रहार गरेको बल संकटाका गोलरक्षक विशाल केसीले पञ्च गर्दै गोलपोस्टमाथि बाहिर निकाले। ७४ औं मिनेटमा संकटाका सृजनराज गौतमको प्रहार सिरहाका गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए। ८४ औं मिनेटमा संकटाका भीषण गुरुङले गरेको प्रहार गोलपोस्टको माथिल्लो बार छोएर बाहिरिएको थियो।
सिरहाका गोलरक्षक विशाल सुनार उत्कृष्ट प्रदर्शन गर्दै "म्यान अफ दी म्याच" घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
प्रतियोगितामा सोमबार तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र बागमती युथ क्लब सर्लाहीबीच हुनेछ। शनिबारको उद्घाटन खेलमा वीरगन्ज युनाइटेड क्लबले भारतको गढवाल डायमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन्। विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ।