नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मधेशीलगायत देशका उत्पीडित समुदायहरूको अधिकार र पहिचान स्थापित गर्न माओवादीले सबैभन्दा बढी त्याग गरेको बताएका छन्।
धनुषाको कमला नगरपालिका–३, पर्सामा आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान दिएको स्मरण गरे। उनले मधेशी जनताको मुक्तिका लागि मात्र १,३०० मधेशी युवाले जनयुद्धमा बलिदान दिएको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले मधेशी जनताको मुक्तिका लागि माओवादीले गरेको योगदानलाई ओझेल पार्ने प्रयास भइरहेको दाबी गर्दै अब भ्रमको पर्दा च्यातेर माओवादी र मधेशी जनताबीच दृढ एकता कायम गर्ने बताए। उनले मधेश राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेशी जनतामा जागरणको लहर ल्याएको, मधेश स्वायत्त जनसरकारमार्फत संघीयताको अभ्यास गरेको, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गरेको, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामराजाप्रसाद सिंहलाई अघि सारेको तथा मधेशको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले मधेश मुक्तिका लागि मधेशी जनतालाई अब अरू दलबाट आशा गर्न नसकिने बताउँदै सम्पूर्ण जिम्मा माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीका सबै पदाधिकारी अहिले मधेशमा रहेर मधेशी पोशाकमा प्रस्तुत भएको उल्लेख गर्दै, "यो पोशाक मात्र नभई हाम्रो मन पनि मधेशमा छ," भने।
उनले अघिल्ला दलहरूसँगको सहकार्यको क्रममा माओवादीभित्र पनि केही समस्या प्रवेश गरेको बताउँदै, पार्टीभित्रका कमीकमजोरी सच्याएर जनतामाझ जाने अभियान थालिएको जानकारी दिए। "कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गर्दा उनीहरूको समस्या हाम्रो पार्टीमा पनि देखिन थालेको छ। यसको समाधान खोज्न हामी जनतामाझ आएका हौँ," उनले भने।
अध्यक्ष प्रचण्डले हुलाकी मार्ग वरपर उत्पीडित वर्गको बसोबास भएकाले जनताको मन बुझ्न उनीहरूसँगै बस्ने, त्यही खाने, त्यही बस्ने कार्य गरिरहेको बताए। उनले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा परिवर्तन गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री रहँदा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी हुलाकी मार्ग निर्माणलाई अघि बढाएको उनले स्मरण गरे।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनका कारण मधेशी जनताले पहिचान, संघीयता, समावेशी र समानुपातिक अधिकार पाएको बताए। उनले मधेशवादी दलहरू विभाजन, नातावाद र कृपावादले ग्रस्त भएकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउनु पर्ने बताए। यादवले आफू मधेशवादी दल छोडेर नेपाल समाजवादी पार्टी गठन गरी माओवादीसँग एकता प्रक्रियामा रहेको जानकारी दिँदै अब मधेशमा माओवादी नै बलियो शक्तिका रूपमा अघि बढ्ने धारणा व्यक्त गरे।
यसैक्रममा, धनुषाको हंसपुर नगरपालिकामा विभिन्न दलका ५० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।