वीरगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट कविता आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार, तथा क्याम्पसमा आवश्यक सुविधाहरूको सुनिश्चितता आफ्ना प्रमुख एजेन्डा रहेको बताइन्।
उम्मेदवारी घोषणा गर्दै आचार्यले भनिन्, "विद्यार्थीहरूको हकहितका लागि म दृढ सङ्कल्पका साथ अगाडि बढ्न चाहन्छु। शैक्षिक गुणस्तर सुधार, आधारभूत सुविधाको सुनिश्चितता, र विद्यार्थी अधिकार रक्षा मेरा प्राथमिक लक्ष्य हुन्। अबको नेतृत्व विद्यार्थीहरूकै हुनेछ र सङ्घर्ष विद्यार्थी अधिकारका लागि हुनेछ।"
उनले विगतका नेतृत्वले विद्यार्थीहरूको हितमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउँदै, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले अपेक्षित सुधार ल्याउन नसकेको उल्लेख गरिन्। "क्याम्पसमा आधारभूत सुविधाको अभाव, शैक्षिक गुणस्तर खस्कँदो अवस्था, र विद्यार्थी गुनासाहरूको वेवास्ता नै स्ववियू नेतृत्व परिवर्तनको मुख्य कारण बनेको छ," उनले थपिन्।
आचार्यले जितेपछि पुस्तकालय सुधार, छात्रावास व्यवस्थापन, नियमित स्वास्थ्य जाँच सुविधा, छात्रवृत्तिको व्यवस्था, तथा कक्षा कोठाको मर्मत सम्भारमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरिन्। "गुणस्तरीय शिक्षाको सुनिश्चितता मेरो पहिलो लक्ष्य हुनेछ। साथै, क्याम्पस प्रशासनसँग समन्वय गर्दै समस्याहरूको दीर्घकालीन समाधान खोजिनेछ," उनले बताइन्।