आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा ३४ वटा संघ/संगठन दर्ता भएका छन्। सोमबार अपराह्न ३ बजेसम्म देशभरका क्याम्पसहरूमा संघ/संगठन दर्ता गर्ने समय तोकिएको थियो।
प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहका अनुसार, ठाकुरराम क्याम्पसमा विभिन्न दलगत तथा समूहगत रूपमा ३४ संघ/संगठन दर्ता भएका छन्। दर्ता गराउनेहरूमध्ये नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी विद्यार्थी युनियन, जनमत विद्यार्थी संघ लगायतका संघ/संगठन रहेका छन्।
ठाकुरराम क्याम्पसमा करिब १२ हजार विद्यार्थी मतदाता रहेको अनुमान गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार, मतदाता नामावली फागुन २१ गते सार्वजनिक गरिनेछ। त्यसपछि, फागुन २५ गतेसम्म मतदाता सूची उपर दाबी विरोध गर्न समय दिइनेछ। सोही दिन दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिनेछ।
फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गरिनेछ। प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदवारहरूको मनोनयन पत्र दाखिला फागुन २७ गते हुनेछ। सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। फागुन २८ गतेसम्म उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ, जुन सोही दिन नै छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिनेछ।
फागुन २९ गते उम्मेदवारी फिर्ता लिन अन्तिम समय तोकिएको छ। त्यस दिन नै अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।