स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी वीरगञ्जस्थित वीरगञ्ज नर्सिङ क्याम्पसमा तीव्र बनेको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि सोमबार नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन दर्ता गराएको छ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनका लागि सार्वजनिक गरेको तालिका अनुसार वीरगञ्जसहित देशभरका आङ्गिक क्याम्पसहरूमा संघ/संगठन दर्ता भइरहेको छ। सोही क्रममा वीरगञ्ज नर्सिङ क्याम्पसमा अखिल (क्रान्तिकारी) ले पनि संगठन दर्ता गराएको हो। संगठन दर्ताका क्रममा अखिल (क्रान्तिकारी) बाट नर्सिङ क्याम्पसको अध्यक्ष पदका उम्मेदवार कविता आचार्य स्वयं उपस्थित थिइन्। निर्वाचन प्रमुखको कार्यालयमा संगठन दर्ता गरिएको जानकारी अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव मिरोज अहमदले दिएका छन्।
निर्वाचन कार्यतालिका अनुसार संगठन दर्ता भइसकेपछि फागुन २१ गते मतदाता सूची प्रकाशित गरिनेछ भने फागुन २५ गतेभित्र मतदाता सूचीमा दाबी-आपत्ति दिने समय तोकिएको छ। त्यसपछि, उम्मेदवारहरूको मनोनयन प्रक्रिया अघि बढ्नेछ।
यसअघि नै कविता आचार्यले सामाजिक सञ्जालमार्फत अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी थिइन्। विद्यार्थीहरूको हकअधिकार, शैक्षिक गुणस्तर सुधार, र क्याम्पसमा आधारभूत सुविधाको सुनिश्चितता आफ्ना मुख्य एजेन्डा रहेको उनले बताएकी छिन्। साथै, उनले अघिल्ला स्ववियु नेतृत्वहरूले विद्यार्थीहरूको हितमा ठोस काम नगरेको आरोप लगाउँदै यसपटक अखिल (क्रान्तिकारी) लाई समर्थन गर्न विद्यार्थीहरूलाई आग्रह गरेकी छन्।
"अघिल्लो नेतृत्वले विद्यार्थीहरूको हितमा कुनै प्रभावकारी काम गर्न सकेन। क्याम्पसमा आधारभूत सुविधाको अभाव छ, शैक्षिक गुणस्तर खस्किँदै गएको छ, र विद्यार्थीहरूका गुनासाहरू सुनुवाइ भएका छैनन्। यही कारण म यो जिम्मेवारी लिन अघि बढेकी हुँ," आचार्यले भनिन्।
स्ववियु निर्वाचनको तयारीसँगै वीरगञ्ज नर्सिङ क्याम्पसमा विद्यार्थीहरूको चहलपहल बढ्दै गएको छ। विभिन्न विद्यार्थी संगठनहरू आ-आफ्नो रणनीतिसहित चुनावी माहोल तताउँदै छन्।