डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले बागमती युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।
खेलको शुरुवातदेखि नै पुलिस क्लबले आक्रामक खेल प्रस्तुत गर्यो। १६औँ मिनेटमा विवेक पाण्डेको कर्नर पासलाई मिडफिल्डर मनिष सेढाइले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। तर, बागमती युवा क्लबले पहिलो हाफमै बराबरी गोल फर्काउन सफल भयो। २५औँ मिनेटमा भूपाल मगरको प्रहार पुलिसका गोलकिपर राजवी राईले घामका कारण राम्ररी देख्न नसक्दा सिधै जाली चुम्यो।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि निर्णायक क्षणमा नेपाल पुलिस क्लबको रणनीति बलियो बन्यो। खेलको ७७औँ मिनेटमा रामचन्द्र माझीको लामो पासलाई उज्ज्वल राईले उत्कृष्ट फिनिसिङ गर्दै निर्णायक गोल गरे। बागमती युवा क्लबले पुनः खेलमा फर्किने प्रयास गरे पनि पुलिसको बलियो रक्षात्मक पंक्तिले कुनै अवसर दिन सकेन।
यो जितसँगै नेपाल पुलिस क्लब पहिलो सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आयोजक वीरगञ्ज युनाइटेडले पहिलो खेलमा गरवाल डायमन्ड क्लबलाई १-० ले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो।
प्रतियोगिताको अर्को सेमिफाइनल समीकरण मङ्गलवारको खेलपछि तय हुनेछ। उक्त खेलमा मच्छिन्द्र फुटबल क्लब र एपीएफ चर्च ब्वाइज युनाइटेड भिड्दैछन्। विजेता टोलीले सलहेश फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ, जसले सङ्कटा क्लबलाई टाई ब्रेकरमा ५-४ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ।
मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता जति अघि बढ्दै छ, त्यति नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ। आदर्शनगर रंगशालामा २ हजार दर्शक अट्ने अस्थायी बाँसको प्याराफिट तयार गरिएको छ भने थप ३ हजारभन्दा बढी दर्शकका लागि व्यवस्था मिलाइएको छ।