"आजको खेल जित्न सफल भयौं, हामी सबैभन्दा पहिले त्यसमै खुसी छौं। मिक्सअफ टिम भएका कारण आफ्नै शैलीमा खेल्न सकिएन, तर सबै साथीहरूको योगदानले जित हात पार्न सफल भयौं। हिजोमात्रै केपी ओली कप खेलेर राति ढिलो सुतेका थियौं, आज फेरि मैदानमा उत्रिएर जित निकाल्दा झन् खुसी लागेको छ," मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजिन सुब्बाले चर्च ब्वाइज विरुद्धको जितपछि भने।
केपी ओली कपको उपाधि जितेको भोलिपल्टै मच्छिन्द्र फुटबल क्लबले अर्को महत्त्वपूर्ण जित दर्ता गर्दै वीरगन्ज गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार आदर्शनगर रंगशालामा भएको क्वार्टरफाइनल खेलमा मच्छिन्द्रले चर्च ब्वाइजलाई २-१ गोल अन्तरले पराजित गर्यो। मच्छिन्द्रका लागि दुवै गोल कप्तान रेजिन सुब्बाले गरे भने चर्च ब्वाइजका कप्तान डीका सरजेले आफ्नो टिमका लागि एक सान्त्वना गोल फर्काए।
पहिलो हाफ गोलरहित सकिएको खेलको ५४औं मिनेटमा मच्छिन्द्रका विशाल तमाङले प्रहार गरेको कर्नर किकलाई रेजिन सुब्बाले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए। तर, खेलको ७६औं मिनेटमा चर्च ब्वाइजका सुरजजी ठकुरीले प्रहार गरेको कर्नर किकमा कप्तान डीकाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
निर्धारित ९० मिनेटपछि थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा पुनः कप्तान रेजिन सुब्बाले निर्णायक गोल गर्दै मच्छिन्द्रलाई सेमिफाइनलको यात्रा तय गराए। उत्कृष्ट प्रदर्शन गरेका कप्तान रेजिन खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो।
अब मच्छिन्द्रले बिहीबार सेमिफाइनलमा सलहेश फुटबल क्लब, सिरहासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार घरेलु टिम वीरगन्ज युनाइटेड क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच हुनेछ।
भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा जारी प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ। उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।