मुटु बाथ कस्तो रोग हो ?
मुटु बाथ रोगलाई एक्यूट रुमाटिक फिबर भनिन्छ । जुन बाल्यकालमा ५ देखि १५ वर्षको उमेरमा बढी देखा पर्ने गर्छ । कहिलेकाँही ३ देखि ५ वर्षमा पनि देखापर्छ । कुनै पनि बिरामीलाई बाल्यकालमा एक्यूट रुमाटिक फिबर भएमा पछि मुटुको भल्भहरुमा असर पर्न जान्छ । जसलाई मुटु बाथ रोग भनिन्छ । घाँटी इन्फेक्सन, छाला इन्फेक्सन हुने मानिसहरुलाई ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि रुमाटिक फिबर गराउँछ । त्यसको इन्फेक्सनले गर्दा पछि गएर मुटु बाथ रोग हुने गर्दछ ।
मुटु बाथ रोग के कारणले हुने गर्छ ?
कम उमेरका बालबालिकाहरुलाई घाँटीको इन्फेक्सन भइरहने, छालामा इन्फेक्सन भइरहने किटाणुले रुमाटिक फिबर गराउँछ । यो अटो इम्युन इम्फ्लामेटरी डिजिज हो । आफ्नै शरीरको कोषको विरुद्ध अर्को एन्टीबडी बनेर मुटुको मांसपेशीमा असर गर्छ । कोनिक इन्फेक्सनले बारम्बार हार्टको मांसपेशीहरुलाई कमजोर पारिदिन्छ । मुटुको भल्भहरुलाई कमजोर पारिदिन्छ । यस्तो समस्याले पछि गएर रुमाटिक हार्ट डिजिज वा मुटु रोग भनिन्छ ।
मुटु बाथ रोग लागेको लक्षणहरु कसरी चिन्ने ? कुन उमेरमा बढी हुन्छ ?
मुटु बाथ रोग लागेमा मुुटुको मांसपेशीमा सुन्निने, जोर्नीहरु दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने, थुक्न ग्राहो हुने, निल्न हातखुट्टा बाँउडिने हुन्छ । विशेष गरेर ५ देखि १५ वर्ष सम्मको उमेरलाई लाग्ने गर्छ । कहिलेकाँही त्यो मुटु रोग पछिका उमेरहरुमा पनि देखा पर्छन् । मुटु बाथ रोग विकासित देशहरुमा भन्दा विकासोन्मुख देशहरुमा बढी लाग्ने गरेको देखिन्छ । यस्ता लक्षण देखिनासाथ उपचार गराउन सचेतना हुनुपर्छ ।
मुटु बाथ रोगको उपचार कसरी गर्न सकिन्छ ?
मुटु बाथ रोग लाग्नु अगाडी सुरुमा लाग्ने रुमाटिक फिबरलाई राम्रो उपचार वा रोकथाम गर्नुपर्छ । गरिबी देशहरुमा कम आय स्रोत भएका समुदायमा यो रोग देखापर्दछ । यो रोगको बारेमा स्वास्थ्य शिक्षा दिनुपर्छ । घाँटीको इन्फेक्सन हुदाँ त्यत्तिकै पानी खाएर घरमा नै निको पार्न खोज्दा मुटु बाथ रोग लाग्न सक्छ । बारम्बार घाँटीको र छालाको इन्फेक्सन हुनेलाई मुटु बाथ रोग लाग्न सक्छ । त्यसैले समयमा घाँटी, छालाको इन्फेक्सन भएको समयमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ । रुमाटिक ज्वरो लागेको बेलामा प्रशस्त पानी खाने, आराम गर्ने, चिकित्सकको सल्लाह अनुसार एन्टीबायोटिक औषधी सेवन गरेमा मुटुमा हुने बाथ रोगबाट बच्न सकिन्छ ।
मुटु बाथ रोग लागेपछि कस्ता समस्याहरु देखिन्छ ?
बाल्यकालमा मुटु बाथ रोग लाग्यो भने पछि गएर मुटुको मांसपेशीहरु कमजोर पार्छ । मुटुको भल्भको एरिया कम हुनु, भल्भ लिक हुने समस्या सबैभन्दा बढी हुन्छ । यस्तो समस्या भएमा हार्ट फेलियर हुन सक्छ । मुटुको भल्भ साधुरो भएकोलाई फुलाउनु पर्छ । मुटु बाथ रोग हुन नदिन लामो समयसम्म एन्टीवायोटिक खानुपर्छ । मुटु बाथरोग लागेको सुरुवातको चरणमा इन्फेक्सन समयमा एन्टिवायोटिक पेन्जाइम पेनेसिलिन, पेञ्जाथिम पेनिसिलिनका सुई मासंपेशीमा १ डोज लगाउन मिल्छ । मुखबाट दिने धेरै डोजहरुमा १० दिनसम्म दिन मिल्छ । दोस्रो चरणमा एक पटक भएपछि फेरि पछि पनि मुटु बाथ रोग नहोस् भन्नको लागि लामो समय एन्टीवायोटिक औषधी खानुपर्छ ।
मुटु बाथ रोग एक व्यक्तिलाई पटक–पटक दोहोरिने सम्भावना कत्तिको हुन्छ ?
कुनै पनि रोग लागेको छ भने हामी औषधीबाट नै उपचार गर्ने प्रयास गर्छौं । मुटु बाथ रोगको उपचार नभए सर्जरी गर्नुपर्छ । मुटु बाथ रोग लागेको मानिसलाई स्वास्थ्यको ख्याल नगरे फेरि पनि हुन सक्छ । बारम्बार मुटु बाथ रोगबाट बचाउन लामो समय औषधीको सेवन गर्न लगाउछौं । आर्थिक स्थिति कमजोर भएको देशहरुमा खानपान राम्रो नभएर पनि यो रोगबाट संक्रमित धेरै हुन्छन् । घाँटीको इन्फेक्सन, छाला इन्फेक्सन हुदाँ हेलचक्राई नगरी नजिकको स्वास्थ चौकी गएर जाँच गरी एन्टीवायोटिक खानु पर्छ । घाँटीको इन्फेक्सन, छाला इन्फेक्स भएमा तुरुन्तै उपचार गर्नुपर्छ । गरिब, विपन्न वर्गका समुदायहरुमा स्वास्थ्य शिक्षा, मुटु बाथ रोगको शिक्षा तथा चेतना फैलाउने काम गर्नु पर्छ ।
आम जनतालाई के सुझाव दिन चाहनु हुन्छ ?
हामीलाई घाँटीका इन्फेक्सन, छालाको इन्फेक्सन भएमा हेलचक्राई नगरी समयमा नजीकको सरकारी अस्पताल, स्वास्थ्य चौकीहरुमा गएर जचाँउनु पर्छ । घाँटीका इन्फेक्सन, छालाको इन्फेक्सनको समयमा उपचार हुन नसक्दा नै मुटुको बाथ रोग हुन्छ । मानिसलाई स्वस्थ्य रहन स्वस्थ्य खाना चाहिन्छ । हामीले उपलव्ध भएका नजिकको अस्पताल, स्वस्थ्य चौकीहरुमा गएर जाँच गरी मुटुको बाथ रोगलाई फैलन दिनु हुदैन । सफा खानपान, सफा र व्यवस्थित बसाई र सानो रोग लागेमा पनि अस्पताल जाने बानी बसाल्नु पर्छ । जसले गर्दा कुनै पनि रोगको कम खर्चमा नै राम्रो उपचार हुन्छ । रोग लागेर जोखिममा पर्ने सम्भावना कम हुन्छ ।