अस्ट्रेलियाका स्टार ब्याट्सम्यान स्टीभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका छन्। ३५ वर्षीय स्मिथले आफ्नो अन्तिम ओडीआई खेल भारतविरुद्ध च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा खेलेका थिए, जसमा उनले अस्ट्रेलियाका लागि सर्वाधिक ७३ रन बनाए पनि टोली पराजित भयो।
स्मिथले आफ्नो ओडीआई करियरमा १७० खेल खेलेर ४३.२८ को औसत र ८६.९६ को स्ट्राइक रेटसहित ५८०० रन बनाए। उनले १२ शतक र ३५ अर्धशतक प्रहार गर्दै अस्ट्रेलियाका लागि ओडीआईमा १२औं सर्वाधिक रन बनाउने खेलाडी बने। सन् २०१६ मा न्युजिल्यान्डविरुद्ध बनाएको १६४ रन उनको व्यक्तिगत उच्च स्कोर रह्यो। ब्याटिङका साथै उनले बलिङमा पनि हात हाल्दै २८ विकेट लिए भने ९० क्याच समाते।
स्मिथले च्याम्पियन्स ट्रफी सेमिफाइनलको हारपछि आफ्ना टिममेटलाई ओडीआई क्रिकेटबाट सन्यास लिने निर्णय सुनाएका थिए। उनले भने, “यो यात्रामा निकै अविश्वसनीय क्षणहरू रहे। दुई विश्वकप जित्नु एउटा विशेष उपलब्धि रह्यो। अब २०२७ को विश्वकपका लागि नयाँ खेलाडीहरूलाई अवसर दिन उपयुक्त समय भएकाे छ।”
स्मिथ अस्ट्रेलियाको २०१५ र २०२३ को विश्वकप विजेता टोलीका सदस्य थिए। माइकल क्लार्कपछि उनले अस्ट्रेलियाको ओडीआई कप्तानी सम्हाल्दै ६४ खेलमा नेतृत्व गरे, जसमा ३२ जिते, २८ हारे र ४ खेल नतिजाविहीन भए। च्याम्पियन्स ट्रफीमा उनले कप्तान प्याट कमिन्स घाइते भएपछि अन्तरिम कप्तानको भूमिका निभाएका थिए।
क्रिकेट अष्ट्रेलियाका पुरुष टोली चयन प्रमुख जर्ज बेलीले स्मिथको निर्णयलाई सम्मान जनाउँदै भने, “स्मिथको ओडीआई करियर शानदार रह्यो। दुई विश्वकप जित्दै उनले आफ्नो विरासत स्थापित गरेका छन्। उनी टेस्ट क्रिकेटमा अझै महत्वपूर्ण भूमिका निभाउनेछन्।”
स्मिथ अब टेस्ट क्रिकेट र टी-२० अन्तर्राष्ट्रिय खेलमा केन्द्रित रहने बताएका छन्। उनले आसन्न विश्व टेस्ट च्याम्पियनसिप फाइनल, वेस्ट इन्डिजविरुद्धको शृंखला र इंग्ल्यान्डविरुद्धको घरेलु खेलहरूमा आफू उपस्थित रहने उल्लेख गरेका छन्।