निर्धारित समय र टाइबेकरमा नतिजा निस्कन नसकेपछि सडन डेथमा पुलिसले घरेलु टोली वीरगन्ज युनाइटेड क्लबलाई स्तब्ध पार्दै दोस्रो वीरगन्ज गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ।
बुधबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट र टाइबेकर दुवै बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथमा पुग्यो, जहाँ पुलिसले वीरगन्जलाई ४-३ ले पराजित गर्यो।
सडन डेथमा पुलिसका शीशीर चौधरी, नीरज खड्का, प्रज्वल चौधरी र सोनिल तमाङले गोल गरे भने वीरगन्जका लागि अजित चौधरी, बिक्रम थोकर र प्रमिजय गच्छेदारले गोल गरे। तर, विवेक चौधरीको प्रहार गोलपोस्टको बार माथिबाट बाहिरिएपछि वीरगन्ज पराजित भयो।
यसअघि टाइबेकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए। पुलिसका लागि कप्तान रामचन्द्र वाजी, गोलरक्षक अमित टमाटा र विवेक पाण्डेले गोल गरेका थिए भने उज्वल राईको प्रहार गोलपोस्टको बारमाथिबाट बाहिरिएको थियो। सन्जिव लामाको प्रहार वीरगन्जका गोलरक्षकले रोकिदिएका थिए।
वीरगन्जका लागि आशा गुरुङ, कप्तान शीशष थापा र कृपाकान्त महत्तोले गोल गरे। तर, शान्त बहादुर गुरुङको प्रहार पुलिसका गोलरक्षक अमित टमाटाले बचाए भने विदेशी खेलाडी बाफरको प्रहार गोलपोस्टको माथिल्लो बारमा लागेर फर्कियो।
खेलको उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिस क्लबका गोलरक्षक अमित टमाटा म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो।
अब, प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार मच्छिन्द्र फुटबल क्लब काठमाडौं र सलहेश फुटबल क्लब सिरहाबीच हुनेछ।
भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ। विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ।