जनकपुरधाम उपमहानगरपालिकामा नेपालकै सबैभन्दा लामो चक्रपथ निर्माण हुने भएको छ। ३३ किलोमिटर लम्बाइको परिक्रमा सडकको बुधबार शिलान्यास गरिएको छ।
पूर्व उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ ले चक्रपथ निर्माण कार्यको शिलान्यास गरेका हुन्। बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने यो चक्रपथको पहिलो चरणमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ।
३३ किलोमिटर परिक्रमा मार्ग, ११ करोड बजेट
जनकपुरधामको ऐतिहासिक एवं धार्मिक महत्वलाई ध्यानमा राख्दै निर्माण हुन लागेको परिक्रमा मार्ग ३३ किलोमिटर लम्बाइको हुनेछ। परियोजनाका लागि ११ करोड बजेट विनियोजन गरिएको छ भने पहिलो चरणको निर्माण कार्य ६ करोड ६० लाखको ठेक्कामा अघि बढाइएको छ।
यो परिक्रमा मार्ग धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिन्छ। हाल जनकपुरधाममा रहेको धार्मिक परिक्रमा मार्गको लम्बाइ ९ किलोमिटर मात्र रहेको छ। संघीय राजधानी काठमाण्डुको चक्रपथ २७ किलोमिटर लामो छ, जुन भन्दा पनि जनकपुरको नयाँ चक्रपथ लामो हुनेछ।
चक्रपथ निर्माणमा नेताहरूको सक्रियता
शिलान्यास कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो, प्रदेश सांसद दीपेन्द्र ठाकुर, एमाले नेता सन्तोष यादव लगायतको उपस्थिति रहेको थियो।
भौतिक पूर्वाधार मन्त्री हुँदा महासेठले चक्रपथ निर्माणका लागि बजेट विनियोजन गराउन भूमिका खेलेका थिए। अब यस परियोजनाले जनकपुरधामको धार्मिक, सांस्कृतिक एवं भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।