रौतहटको गरुडा नगरपालिकामा सञ्चालनमा रहेका अनियमित अस्पतालहरूमाथि प्रदेश सरकारको कडाइ गरिएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनपछि १० वटा अस्पतालहरू बन्द गर्ने निर्देशन दिइएको छ।
मुख्यमन्त्री सिंहले आज गौरस्थित निजी अस्पतालहरूको अनुगमन गरेका थिए। अनुगमनका क्रममा ती अस्पतालहरूले आवश्यक स्वीकृति नलिएको, अनुमति लिए पनि नवीकरण नगरिएको तथा कानुनी प्रावधान विपरीत अधिक शय्या राखेर सञ्चालन गरिएको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको हो।
बन्द गरिएका अस्पतालमध्ये नौ वटा गरुडा नगरपालिका वडा नम्बर–४ मा र एक वडा नम्बर–५ मा रहेका छन्। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरका अनुसार अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गौर आँखा अस्पताल, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि, श्री सरस्वती हस्पिटल प्रालि तथा आनन्द हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्री सिंहका अनुसार जनस्वास्थ्य नियमावली २०७७ अनुसार प्रदेश सरकारले २५ देखि २०० शय्याका अस्पताल सञ्चालनको स्वीकृति दिने व्यवस्था छ, भने दुई सय शय्याभन्दा माथिका अस्पतालको स्वीकृति संघ सरकारको अधिकार क्षेत्रभित्र पर्छ। तर, कतिपय स्थानीय तहले कानुन विपरीत १५ शय्याभन्दा बढी क्षमताका अस्पताल सञ्चालनको अनुमति दिँदै आएको पाइएकाले यसलाई रोक्न प्रदेश सरकारले कठोर कदम चालेको हो।
सरकारले स्वास्थ्य क्षेत्रमा मापदण्ड कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताउँदै मुख्यमन्त्री सिंहले अब पनि नियम उल्लङ्घन गर्ने अस्पताललाई थप कडा कारबाही गरिने चेतावनी दिएका छन्।