वीरगञ्ज महानगरपालिका वडा नम्बर– ८, पानीटंकीस्थित एञ्जल वल्र्ड स्कुलको २१ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । नगर सभा गृह (टाउन हल) मा आयोजित विशेष सांस्कृतिक कार्यक्रमका बीच विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
विद्यालयका अध्यक्ष पवित्रा प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री क्षेत्रीले संघीयता आएपछि नेपालमा पूर्वाधार विकास भए पनि अपेक्षाअनुसारको प्रगति हुन नसकेको उल्लेख गरे ।

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री क्षेत्रीले समाजमा असल व्यक्ति निर्माण गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले एञ्जल वल्र्ड स्कुलले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुका साथै असल नेतृत्व भएको व्यक्ति निर्माण गर्नुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख हरि राउत, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेश श्रेष्ठ, गरिमा विकास बैंक वीरगञ्जका प्रबन्धक राजीव झालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका इन्द्रदेव साह, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान र प्यावसन पर्साका अध्यक्ष सरोज चौधरीलाई सम्मान गरिएको थियो । गत वर्ष एसईई परीक्षामा पर्सा जिल्लामा प्रथम भएकी आँचल कुमारी पटेल, दोस्रो भएकी सहनाज खातुन, तथा सान्त्वना स्थान प्राप्त गरेका गौरव प्रताप साहलाई सम्मान पत्र प्रदान गरिएको विद्यालयकी जुनियर कोर्डिनेटर अंकिता प्रधानले जानकारी दिइन् । उनका अनुसार उत्कृष्ट अंक ल्याउने विद्यार्थीको सम्मानले गर्दा अन्य विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताउनु भयो ।

एञ्जल बल्डका निर्देशक रामराज श्रेष्ठले विद्यार्थीको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासलाई विद्यालयको प्रमुख प्राथमिकतामा राखेको बताए । प्रबन्ध निर्देशक पवित्रा प्रधानले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिँदै विद्यालयले विद्यार्थीलाई समग्र रूपमा सक्षम नागरिक बनाउन प्रयास गरिरहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्का, मध्यनेपाल सन्देशको सम्पादक कविता खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, विद्यालयका प्रिन्सिपल शकिल अहमद, सिनियर कोर्डिनेटर अजित कुमार चौरसिया लगायतको उपस्थिति थियो ।
कार्यक्रममा झिझिया, पश्चिम नेपालको देउडा (हुर्केली), नेवारी, थारु लगायत विभिन्न जातजाति तथा समुदायका नृत्य प्रस्तुत गरिएको थियो । २०६० सालमा स्थापना भएको विद्यालयमा पिजीदेखि कक्षा १० सम्म ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जहाँ ५० भन्दा बढी शिक्षकलगायत कर्मचारीहरूले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क. तथा विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राद्वय श्रीधी पाण्डे र सलोनी गुप्ताले गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सत्यनारायण मुखियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।