लिभरपुलका प्रशिक्षक अर्ने स्लटले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध च्याम्पियन्स लिगको क्वार्टरफाइनल दोस्रो लेगमा पेनाल्टी सुटआउटमा हार बेहोरे पनि आफ्नो टोलीको प्रदर्शनलाई सर्वश्रेष्ठ भनेका छन्।
गत साता पहिलो लेगमा १-० को हारपछि घरेलु मैदान एन्फिल्डमा ओस्मान डेम्बेलेले १२औं मिनेटमा गोल गर्दै समग्र खेल बराबरीमा ल्याएका थिए। लिभरपुलले गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि खेल अतिरिक्त समयसम्म पुग्यो। पेनाल्टी सुटआउटमा पीएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माले डार्विन नुनेज र कर्टिस जोन्सको प्रहार रोक्दै ४-१ को जित सुनिश्चित गरे।
स्लटको प्रतिक्रिया: ‘जीवनकै उत्कृष्ट खेल’
खेलपछि अमेजन प्राइमसँग कुरा गर्दै प्रशिक्षक स्लटले भने, "म संलग्न भएका खेलहरूमध्ये यो सर्वश्रेष्ठ खेल थियो।"
उनले थपे, "विशेष गरी गत हप्ता भएको खेलसँग तुलना गर्दा आजको प्रदर्शन अविश्वसनीय रह्यो। हामी सायद भाग्यबाट अलि टाढा रह्यौं, किनभने खेलको अन्तर निकै सानो थियो। हामीले उत्कृष्ट खेल्यौं, तर गोल गर्न सकेनौं, जसरी पहिलो लेगमा पीएसजीले उत्कृष्ट खेलेर गोल गर्न सकेन। अतिरिक्त समयमा उनीहरू अलि बलियाे देखिए।"
अब लिभरपुलको लक्ष्य घरेलु उपाधि
च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब लिभरपुलको ध्यान घरेलु उपाधिहरूमा केन्द्रित हुनेछ।
इंग्लिस प्रिमियर लिगमा १५ अंकको अग्रता लिएर शीर्ष स्थानमा रहेको लिभरपुल उपाधि नजिक छ। त्यस्तै, आइतबार हुने काराबाओ कप (EFL Cup) को फाइनलमा उनीहरू न्यूकासलसँग भिड्नेछन्।
कप्तान भर्जिल भान डाइकले भने, "हामी उत्कृष्ट खेल्यौं, र सकेसम्म टाढासम्म पुग्न चाहन्थ्यौं। तर जब हामीले पेरिसलाई प्रतिद्वन्द्वीका रूपमा पायौं, हामीलाई थाहा थियो कि खेल कठिन हुनेछ।"
स्कटिस डिफेन्डर एन्डी रोबर्टसनले भने, "यो हाम्रो लागि हुन सकेन, अब हामी न्यूकासलविरुद्धको फाइनलमा ध्यान दिन्छौं। हामी जहिले पनि पुनः उभिन सक्छौं, र कप फाइनल खेल्न सधैं रोमाञ्चक हुन्छ।"
पीएसजी प्रशिक्षक लुइस एनरिके: ‘दुवै टोली अघि बढ्न लायक थिए’
पीएसजीका प्रशिक्षक लुइस एनरिकेले लिभरपुललाई दुर्भाग्यशाली भएको बताए। उनले भने, "दुवै टोली अर्को चरणमा पुग्न योग्य थिए। तर एन्फिल्ड जस्तो विशेष रंगशालामा खेल्दा मेरो टिमले देखाएको चरित्र अविश्वसनीय रह्यो।"
अलेक्ज्याण्डर-अर्नोल्डको चोट: न्यूकासलविरुद्धको फाइनल गुमाउने सम्भावना
लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डको चोट गम्भीर देखिएको छ।
पीएसजीविरुद्धको खेलको दोस्रो हाफमा उनी भिटिन्हासँगको टकरावमा घुँडामा समस्या आएपछि मैदानबाट बाहिरिए। प्रशिक्षक स्लटले भने, "उनी खेलबाट बाहिरिनु परेको थियो, जुन राम्रो संकेत होइन। चोट लागेको तरिका हेर्दा अवस्था राम्रो देखिँदैन। आइतबारको खेलमा उनी उपलब्ध हुनेमा म आश्चर्य हुने थिएँ।"
गत वर्षको काराबाओ कप फाइनलमा चेल्सीविरुद्ध पनि अलेक्ज्याण्डर-अर्नोल्ड अनुपस्थित थिए।
यसैबीच, इंग्ल्याण्डका नयाँ प्रशिक्षक थोमस टुचेलले शुक्रबार विश्वकप छनोट खेलका लागि टोली घोषणा गर्नेछन्। ३३ क्याप प्राप्त गरिसकेका अलेक्ज्याण्डर-अर्नोल्ड टोलीमा समावेश हुने सम्भावना थियो, तर उनको चोटले अनिश्चितता बढाएको छ।