अत्यधिक गर्मीको कारण बारा, पर्सा, रौतहट लगायत तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । विहानै देखि चर्को घाम लागी वातावरण नै तातो भएसँगै जनजीवन थप कष्टकर बन्दै गएको हो । गर्मी बढदै जादा पर्साको सदरमुकाम वीरगंज, बाराको कलैया, रौतहटको गौर बजारमा सर्वसाधारणको चहल पहलमा पनि निकै कम देखिन थालेको छ । चर्को घाम पछिको समय—समयको तातो हावाका बहेको कारण घरबाट बाहिर निस्कन सर्वसधारणलाई समस्या भइरहेको छ ।
तराई जिल्लाको सरकारी कार्यालयहरुमा विगतको तुलनामा एक्कासी बढेको गर्मीका कारण सेवाग्राहीहरुको संख्यामा पनि कम हुन थालेको स्थानीय कार्यालयका कर्मचारीले बताए । टाढा टाढाबाट सेवा लिन आउने सेवाग्राहीहरु प्रचण्ड गर्मीका कारण सेवा लिनुभन्दा पनि शितल ठाउँ वा रुख छहारी खोजी समय कटाउन थालेका छन् । केहि दिनयता बढेको गर्मी तथा सुख्खा यामका कारण बारा, पर्सा, रौतहटमा डेढ दर्जन बढी घरमा आगलागिको घटना भएको संघिय प्रहरी ईकाई नरायणी वीरगंजले जनाएको छ ।
गर्मीका कारण बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्ष्णहरु बढी देखा पर्न थालेको नारायणी अस्पताल वीरगन्जका फिजिसियन डा. निरज सिंहले बताए । चिकित्सक सिंहका अनुसार अहिले ज्वरो, झाडापखाला, मलेरिया, टाईफाईड जस्ता विरामीले अस्पतालको यार्डदेखि ओपडि सेवा समेत विरामीले पूरै भरिएको छ ।
विहानको खाना दिउसो खादाँ फुड प्वाइजन
पहिलाको तुलनामा अहिले बिहान पाकेको खाद्य पदार्थ दिउसो खाँदा पनि विरामीको संख्या बढेको छ । प्रत्येक दिन जसो २ दर्जन भन्दा बढी झाडापखालाकै विरामीहरु ऋाउन थालेको अस्प्तालले जनाएको छ । विरामी हुनेमा अधिकांश ८ वर्ष मुनिका बालबालिकाहरु र बृद्धाहरुको संख्या बढी रहेको उनले बताए । प्रत्येक दिन बढदै गएको गर्मी मौसमको प्रतिरोध गर्न नसक्द बालबालिकाहरुमा झाडापखाला र ज्वरोको असर बढि देखिन थालेको छ । यससंगै छालारोग लगायत गर्मिमा देखिने घाउ खटिराको विरामीहरुको चाप समेत ओ.पि.डि सेवामा बढ्ेको छ । गर्मीमा विहानको खाना दिउसो खाँदा बच्चालाई ख्वाउँदा झाडा पखाला लागेर विरामी हुनेको संख्या पनि बढेर आएको डा सिंहले बताए । अहिलेको समयमा विहान पकाएको खाना खादाँ फुड प्वाईजन हुने बढि सम्भावना रहेको उनको तर्क छ ।
गर्मीले घाऊ खटिरा, हात खुट्टा चिलाउने जस्ता समस्याहरु बढी देखिन थालेको छाला तथा यौनरोग विशेषज्ञ डा. सुमन प्रसादले बताए । गर्मीमा बच्न मध्यानमा घाममा ननिस्कने, झोल पदार्थ खाने र राती झुल लगाएर सुत्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
गर्मीले तराईको ग्रामीण भेगका किसानहरुले आफना खेतहरु खनजोत गरी विऊ छर्न लायक बनाएको भए पनि विहानैदेखिको चर्को घामको रापले किसानहरु खेतमा काम गर्न जान समेत उति नसकेको स्थानीय किसानहरुले बताए । जसको कारण खेतैमा विउ सुक्ने सम्भावना पनि बढेर गएको उनीहरुको तर्क छ । नहर र बोरिङबाट सिचाइको सुविधा नभएका कारण चैते धानमा समेत प्रभाव पर्न थालेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र प्रसाद यादवले पनि बताए ।
गर्मी बढेकाले चिसो पेय पदार्थ र रसिलो कुराको विक्रि वितरण बढेको छ । कोलड्रिंकस्, काक्रो, उखु, दही, लस्सी, भुइकटहर, सतु लगायतको कारोबार अहिले बजारमा बढेको माइस्थान दही भण्डारन केन्द्रका उमेश साह कानुले बताए । गर्मिका बेला वीरगंजका विभिन्न ठाउँमा विगतका दिनहरुमा निःशुल्क रुपमा पानी खुवाउदै आएको थियो । तर अहिले समर्पण सेवा संस्था एक्लैले मात्रै सर्वसधारण, बटुवाहरुलाई पानी खुवाउने गरेको छ । गर्मीका बेला स्थानीय निकायले विभिन्न ठाऊँमा चिसो खानेपानी उपलब्ध गराउन सके ग्रामिण भेगबाट बजारतर्फ काम बिशेष आउनै पर्ने सर्वसधारणलाई पनि राहत हुने साहको भनाइ छ ।