काठमाडौं उपत्यका तथा पहाडी जिल्लाहरूमा आज फागु पूर्णिमाका अवसरमा रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। सरकारद्वारा पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिइएको छ भने भोलि तराई तथा भित्री मधेशका जिल्लाहरूमा यो पर्व मनाइनेछ।
होली असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र दुराचारमाथि सदाचारको विजयको प्रतीक मानिन्छ। यो दिन आफन्त, परिवार, साथीभाइबीच आपसी प्रेम, सद्भाव र मेलमिलापको भावना विकास गर्न रंग तथा अबिर लगाएर उल्लासपूर्वक मनाइन्छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा यो पर्व मनाइन्छ भने भोलिपल्ट तराई-मधेशमा धूमधामका साथ उल्लासमय वातावरणमा होली मनाइन्छ।
काठमाडौं दरबारमार्ग, बसन्तपुर, ठमेल लगायतका स्थानहरूमा विशेष रूपमा होली मनाउने परम्परा छ। चीर ठड्याएर होलीको शुभारम्भ गरिन्छ भने पूर्णिमाको राति चीर दहन गरी यसको समापन गरिन्छ।
होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन्। उनीहरूले यो पर्वलाई मर्यादित ढंगले मनाउन आह्वान गर्दै आपसी प्रेम, सहिष्णुता र एकताको सन्देश दिनुपर्ने उल्लेख गरेका छन्।
यसै अवसरमा सुरक्षा निकायले होलीको नाममा उश्रृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ। जथाभावी रंग नहाल्न, जबरजस्ती अबिर दल्न तथा शारीरिक तथा मानसिक हिंसा हुन नदिन सचेत गराइएको छ। नियम उल्लङ्घन गरे कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।