देशको राजधानी काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ होलीको चीर ठड्याइएपछि देशभर यो वर्षको होली सुभारम्भ भएको मानिएको छ । यो शुभारम्भसँगै होलीको विधिवत सुरुवात समेत भएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीन तले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने मान्यता विगतदेखिको हो । रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबिर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फीट अग्लो चीरलाई यो वर्ष बसन्तपुरमा ठड्याइएको छ । वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व कम छैन । हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयल रुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याई चीर गाडिएको उल्लाससँगै पर्वले सबैको मन रंगिन बनाउन थालेको छ ।
बसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा समेत लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक मनाइने होली पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रल्हादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भई आगोले प्रह्लादलाई नछोएको किम्बदन्ती छ । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने प्रचलन पनि सोही समयदेखि सुरु गरिएको पौराणिक मान्यता सबै सामु जिवित पनि छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा पु¥याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुने मान्यता पनि नेपालमा छ ।
भक्तपुरमा दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिने पनि प्रचलन जिवित छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्गलाई टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिने नेवारी परम्परा अनुसार यसलाई चीर स्वायगू भन्ने प्रचलन पनि जिवित छ । यो वर्ष पनि होलीको सुभारम्भमा यो कार्य गरिएको छ । होली पर्व दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग जोडिएर हेर्ने गरेको परम्परा पनि छ । भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने मान्यताले पनि प्रश्रय पाएको छ । फागुन नवमीको दिनमा भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरी रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिने परम्परा पनि राजधानी काठमाण्डौ नजिकै रहेको छ ।
यता मधेश तथा तराईमा झन होली पर्व मौलिक पर्वका रुपमा विशेष रुपले मनाइन्छ । यो पर्व पनि छठ पर्व जस्तो झाँगिदै पहाड चढेको मधेश तराईको ठम्याई छ । जहाँ जसरी सुरु गरे पनि होली पर्व नेपालको शक्तिशाली पर्व मध्येको एका हो । यो पर्व पछिल्लो समयमा अलि तडक–भडक गरी मनाउने र हिंसा बढाउने, मादक पदार्थ सेवन गर्ने, केमिकलयुक्त रंगहरु प्रयोग गर्ने र खानपानमा पनि सचेतना नअपनाइने कारण असभ्य पर्व बन्ने चिन्ता अग्रजहरुको छ । त्यसैले पनि आपसी सद्भावको पर्व सबैमा मर्मस्पर्शी हुने गरी सभ्य तरिकाले मनाउन पर्छ । सबैमा होलीको शुभकामना ।