फागुन महिनामा पर्ने फागु पूर्णिमालाई उपत्यका र पहाडी भेगका मानिसहरूले यसलाई फागु भने पनि तराईका मानिसहरू यसलाई होली भन्ने गर्छन् । पछिल्लो समय नेपाल र भारतमा विशेष यस पर्वलाई होली पर्वका रूपमा मनाउने गरिन्छ । माया, प्रेम र सद्भाव झल्काउने तथा उमङ्ग र उत्साह थपिदिने होली एकआपसमा रङ र अवीर दलेर, पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
बिहीबार उपत्यका र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । भने तराईमा शुक्रबार होली मनाईदैछ । वसन्तपुरमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको ३ तले चीर ठड्याएपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अवीर एकआपसमा छ्याछ्याप गरेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुहरूको राजा वसन्त ऋतुको आगमन हुने विश्वास छ ।
विशेषगरी तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिएको भनाइ छ । होलीमा रङ र अवीर एकआपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ । पहिले हिन्दु धर्मका अनुयायीले मात्र मनाउने भए पनि पछिल्लो समय हरेक धर्म, जात र सम्प्रदायले होली मनाउने गरेका छन् ।
बदलिएको फागु पर्व
पहिले पहिले फागु या होलीमा रङहरू छ्यापेर एकअर्कामा खेल्ने गरिन्थ्यो भने अहिले रङसँगै पानीको पनि होली खेल्ने गरिएको छ । पहिले पहिले साथीभाइबीच रमाइलो गरिनेमा अहिले हप्ता दिनअघिदेखि नै चिनेका या नचिनेका मानिसलाई लोला हान्ने गर्छन् । त्यसमा पनि केटाहरूले केटीहरूलाई नै ताकीताकी लोला हान्ने गरेका छन् ।
होलीको नाममा विभिन्न कार्यक्रमहरू हुने गरेका छन् । नाचगान र रङहरू छ्यापेर मनाइने होलीमा विभिन्न कलाकारहरूले साङ्गीतिक कार्यक्रमहरू गर्ने गरेका छन् । होलीले संस्कृति धान्नुपर्नेमा विभिन्न मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने हुँदा विभिन्न दुर्घटना निम्तिने गरेका छन् ।
होलीसँग जोडिएका कथा
होलीका बारेमा विभिन्न कथा र प्रसङ्गहरू जोडिएका छन् । आसुरी शक्तिकी प्रतीक होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रह्लादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीहरूले नुहाउँदाको प्रसङ्ग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसङ्गहरू होलीसँग जोडिएका छन् । यसैगरी बन्दी बच्चाहरूलाई राक्षस ढुण्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसङ्ग पनि धार्मिक ग्रन्थमा रहेको छ ।
पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मनपरेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अवीर दलेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । अर्को एक प्रसङ्गअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अवीर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधि चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्ता प्राचीन हस्तलिपिहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विन्ध्य क्षेत्रको रामगढ भन्ने स्थानमा रहेको इसापूर्व ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो । यस पर्वमा चिर ठड्याउने परम्परा सम्बन्धमा एक लोककथनअनुसार एक पटक यमुना नदीमा एक समूह गोपिनीहरू निर्वस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान् श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगाहरू नदीको किनारमा एउटा रूखको हाँगामा झुन्ड्याई आफू अर्को हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए ।
गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्ती भाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् बरु उनले भने, ‘निर्वस्त्र नुहाएकामा प्रायश्चित गरे मात्र लुगाहरू दिनेछु ।’ त्यसअनुसार गोपिनीहरूले श्री कृष्णलाई अघ्र्य, जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रूखको हाँगाबाट लुगाहरू झारिदिएका थिए ।
अरू देशमा होली
अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छन् । विश्वका धेरै मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गिन कपडाहरू मिलाएर बनाएको चिर गाडेपछि होली पर्व सुरु भएको मानिन्छ । यसरी सुरु भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाएपछि सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ ।
होलीलाई असत्यमाथि सत्यको जीतको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्पराअनुसार पानीसँग नभएर अवीर र रङसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन् ।
भारत: होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोल जात्रा, डोला जात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् कृष्णको ब्रजभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु र काश्मिर, पञ्जाब, मध्य प्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तर प्रदेशको ब्रजक्षेत्रको मथुरा नजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ । धार्मिक र सामाजिक रूपले महिलालाई जिस्क्याउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यस परम्पराको उद्देश्य हो । किंवदन्तीअनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्क्याएका थिए । प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए ।
त्यतिबेलादेखि नै यो परम्परा कायम छ । छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर...’ पूरा एसियामा लोकप्रिय छ ।
पाकिस्तान: पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यस मुलुकमा हिन्दु धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घरआँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवम् इष्टमित्रहरूलाई खुवाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग साङ्गीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भई होली मनाइन्छ ।
बङ्गलादेश: बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दु, बौद्ध एवम् मुस्लिम समुदायका मानिसहरू बसोवास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि त्यहाँ हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दु धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।
गुयाना: दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ । यहाँ पानी, रङ र गीतसङ्गीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । यहाँका हिन्दूहरूलाई यस पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।
बेलायत: बेलायतमा बसोवास गरिरहेका अन्य मुलुकका नागरिकले आआफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेषगरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा साङ्गीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धुमधामका साथ होली मनाउने चलन छ ।
मौरिसस: अफ्रिकी महादेशमा पर्ने यस मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् । यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलिका दहन गर्ने चलन छ । एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ । यहाँ साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।
फिजी: फिजीमा साङ्गीतिक रमझमका साथ होली मनाइन्छ । राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसमभरी नै होली गीतहरू गाइन्छ ।
दक्षिण अफ्रिका: दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भई होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । यहाँ दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।
सुरिनाम: सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दु छन्, जो भारतको उत्तर प्रदेश तथा बिहारबाट गएका हुन् । त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ । साथीभाइ एवम् परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ ।
अमेरिका: अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोवास गर्ने यस मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन् । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा साङ्गीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइन्छ । आफन्तहरूसँगको भेटघाट एवम् खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो । – विभिन्न एजेन्सीहरुको सहयोगमा