साध्वी देव कृपाले संसारिक सुखभन्दा अध्यात्मिक सुखलाई प्राथमिकता दिँदै साध्वी जीवनलाई अँगालेकी छन्। झापामा जन्मिएर देशभर आफ्नो कर्मभूमि बनाएकी उनले बाहिरी क्रियाशीलता र भित्री स्थिरतालाई नै वास्तविक जीवन मान्ने बताउँछिन्। योग अभ्यास तथा आध्यात्मिक जागरणमार्फत समाजसेवामा संलग्न साध्वी कृपासँग गरिएको कुराकानीमा उनले जीवन, योग र वैराग्यताका विविध पक्षबारे आफ्ना दृष्टिकोण व्यक्त गरेकी छन्।
जीवन संघर्षको यात्रा
साध्वी कृपाका अनुसार, जीवन भनेको संघर्ष नै हो। शरीर रहेमात्र संसारको अस्तित्व रहने बताउँदै उनी भन्छिन्, "हामीसँग पैसा रहन्छ, तर शरीर स्वस्थ नरहेमा त्यसको कुनै अर्थ रहँदैन। अहिले नै स्वस्थ जीवनशैली अपनाएनौं भने भोलि सिलिन्डरमा हावा किनेर बाँच्नुपर्ने दिन आउन सक्छ।"
ऋषिमुनिहरूले दिएको सय वर्षको आयु पूरा गर्नका लागि स्वस्थ जीवनशैली आवश्यक रहेको उनको बुझाइ छ। "मनुष्यले सय वर्ष बाँच्दा पनि आँखाले प्रस्ट देख्न सकोस्, कानले सत्य सुन्न सकोस्, भगवानको नाम उच्चारण गर्न सकोस्। जीवन यही वास्तविकताको समिश्रण हो," उनले थपिन्।
साध्वी बन्ने यात्रा
झापामा जन्मेकी साध्वी कृपाको प्रारम्भिक जीवन सामान्य थियो। उच्च शिक्षा हासिल गर्ने क्रममा योगप्रति आकर्षित भएकी उनले गुरुकुल अध्ययनपछि आध्यात्मिक मार्ग रोज्ने निर्णय गरिन्। योगलाई जीवनसाथी बनाउँदै देशभर धार्मिक तथा आध्यात्मिक जागरण फैलाउने अभियानमा लागेकी उनी विवाहको साटो समाजसेवा र ध्यानलाई नै जीवनको सार्थक मार्ग मान्छिन्।
"छोरी मानिस विवाह गरेर गएमा एउटा परिवारलाई सम्हाल्न सक्छ, तर सन्यासी भएर देशभरका मानिसलाई मार्गदर्शन गर्न सकिन्छ," उनी भन्छिन्।
सन्यासको निर्णय र पारिवारिक प्रतिक्रिया
हरीद्वार जाने क्रममा आध्यात्मिक भावनाले गहिरिएपछि उनले रामनवमी पर्वको अवसरमा सन्यास ग्रहण गर्ने निर्णय गरिन्। "सन्यास लिने बेलामा परिवारलाई थाहा दिएकी थिइनँ। पछि घरमा थाहा भएपछि विभिन्न प्रतिक्रिया आए, तर अहिले परिवारले मेरो निर्णयलाई समर्थन गरिरहेका छन्," साध्वी कृपाले सुनाइन्।
योग र वैराग्य
योगले बाहिरी क्रियाशीलता र भित्री स्थिरता ल्याउने बताउने साध्वी कृपाले योगलाई गम्भीरतासाथ अभ्यास गर्नुपर्ने बताउँछिन्। "योगको गहिराइमा जान चाहनेले शिक्षक प्रशिक्षण लिनुपर्छ। योग सिक्न र बुझ्न एक महिनाको प्रशिक्षण आवश्यक पर्छ," उनले स्पष्ट पारिन्।
योगको माध्यमबाट मात्र आत्मपरिवर्तन सम्भव हुने उनको दाबी छ। "शारीरिक रोग त योगले हटाउँछ नै, तर मुख्य कुरा स्वभावमा परिवर्तन ल्याउनु हो। नेपालभर ७७ जिल्लामा योग संगठनहरू स्थापना भइसकेका छन् र ५० हजारभन्दा बढी योग शिक्षकहरू सक्रिय छन्।"
वैराग्य र मानसिक स्थिरता
साध्वी कृपाका अनुसार, वैराग्य भनेको रागरहित मनस्थितिमा पुग्नु हो। "जब मानिस भौतिक सुखमा अल्झन छोड्छ, त्यही वैराग्य हो। जब धन, घर, गाडीप्रतिको मोह हट्छ, तब ऊ मुक्त बन्छ।"
त्यस्तै, माया र प्रेमबारे उनले भनिन्, "माया हुनु राम्रो हो, तर मोहमा नफस्नु। जब कसैप्रति आवश्यकता भन्दा बढी आशक्ति हुन्छ, त्यसले पीडा जन्माउँछ। सीमित अपेक्षा राख्ने हो भने मात्रै मन शान्त रहन्छ।"
त्याग र आत्मबोध
साध्वी कृपाले त्यागलाई समर्पणसँग जोड्छिन्। "त्याग भनेको आवश्यकता भन्दा बढीको खोज नगर्नु हो। जति छ, त्यसमै सन्तुष्ट हुनु नै वास्तविक त्याग हो।"
मानिसले जीवनलाई बुझ्ने क्षमता प्राप्त गर्न आत्मचिन्तन आवश्यक रहेको उनको धारणा छ। "आफूलाई बुझ्न सकियो भने मात्र जीवनको सार्थकता थाहा हुन्छ। योग, ध्यान र प्राणायाममार्फत मानसिक स्थिरता ल्याउन सकिन्छ," उनले निष्कर्ष सुनाइन्।
साध्वी कृपाका विचारले आध्यात्मिक मार्ग अपनाउन चाहनेहरूका लागि प्रेरणादायी सन्देश प्रवाह गरेको छ। योग र ध्यानको अभ्यासबाट शरीर स्वस्थ राख्दै जीवनलाई सही दिशामा अघि बढाउन सकिने उनको धारणा छ।