अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर अब रजतपटमा देखिन लागेका छन्। क्रिकेट मैदानमा आफ्नो धाक जमाइसकेका वार्नरले भारतीय तेलुगु फिल्म ‘रोबिन हुड’ मार्फत अभिनयमा डेब्यु गर्दैछन्।
वार्नरले आफ्ना प्रशंसकहरूलाई सामाजिक सञ्जालमार्फत यो खुसीको खबर बाँडेका छन्। एक्स (पहिले ट्विटर) मा पोस्ट गर्दै उनले फिल्ममा काम गर्न पाएकोमा उत्साहित रहेको बताएका छन्। फिल्मलाई मैत्री मूभि मकेर्सले निर्माण गर्नेछ भने भेन्की कुदुमुलाले निर्देशन गर्नेछन्।
निर्माण कम्पनीले वार्नरलाई भारतीय सिनेमा जगतमा स्वागत गर्दै पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा उल्लेख छ, "क्रिकेट मैदानमा चम्किएर प्रभाव छोडेपछि अब डेभिड वार्नरको सिल्भर स्क्रिनमा देखिने समय आएको छ।"
फिल्म ‘रोबिन हुड’ आगामी मार्च २८ मा प्रदर्शनमा आउनेछ। फिल्मको मुख्य भूमिकामा अभिनेता नितिन रहेका छन्, जसले धनीहरूसँगबाट चोरी गरी गरीबलाई सहयोग गर्ने पात्रको भूमिका निर्वाह गरेका छन्।
डेभिड वार्नरले भने, "यो फिल्मको सुटिङ एकदम रमाइलो अनुभव रह्यो। म भारतीय सिनेमामा आउँदैछु भन्ने कुराले उत्साहित छु।"
यसअघि निर्माता वाई रविशंकरले वार्नरको सहभागिताबारे खुलासा गरेका थिए। एक प्रमोशन कार्यक्रममा उनले वार्नरले आफ्ना प्रशंसकहरूका लागि फिल्ममा क्यामियो भूमिका निभाएको जानकारी गराएका थिए।
क्रिकेटबाट फुर्सद लिएपछि वार्नर मनोरञ्जन क्षेत्रमा सक्रिय देखिएका छन्। अब उनले सिनेमा जगतमा पनि आफ्नो प्रभाव जमाउन सक्छन् कि भन्ने कौतुहलता फ्यानहरूमा छ।