शिक्षा क्षेत्रमा सक्रिय उप–प्राध्यापक पल्लवी हरलल्काले महिनावारीबारे सचेतना अभियान सञ्चालन गर्दै आएकी छन्। उनले "महिनावारी सकारात्मकता" र "गुड टच, ब्याड टच" जस्ता कार्यक्रममार्फत ग्रामीण क्षेत्रका महिला तथा विद्यार्थीलाई जागरुक बनाउने कार्य गरिरहेकी छिन्।
"गाउँघरमा महिनावारी शिक्षाको अभाव धेरै छ," उप–प्राध्यापक हरलल्का भन्छिन्, "कतिपय महिलाहरूले सेनेटरी प्याड नै देखेका छैनन्। महिनावारीका बेला प्रयोग गर्ने कपडालाई पटकपटक धोएर प्रयोग गर्छन्, जुन अस्वास्थ्यकर छ।"
ठाकुर राम बहुमुखी क्याम्पसमा कार्यरत हरलल्काले आफ्नै जीवन अनुभवले महिनावारी शिक्षामा काम गर्न प्रेरित गरेको बताइन्। "मैले कक्षा ८ मा हुँदा पहिलो पटक महिनावारी अनुभव गरें। पेट निकै दुख्थ्यो, तर आमाले बाबुबाट समेत लुकाउनुहुन्थ्यो। विद्यालयमा जाँदा केटाहरूबाट लुकाउनु पथ्र्यो, लुगा दाग लाग्ने डर हुन्थ्यो," उनले भनिन्। आफ्नै स्वास्थ्य समस्याका कारण उपचारका लागि भारत पुग्दा महिनावारीसम्बन्धी ज्ञान बढ्दै गयो र समाजमा यसबारे जागरुकता फैलाउने अठोट गरिन्।
हरलल्काले अहिलेसम्म १६०० भन्दा बढी छात्राहरूलाई महिनावारीसम्बन्धी तालिम दिइसकेकी छन्। "तालिमपछि छात्राहरूलाई फारम भर्न लगाउँछु, उनीहरूको अनुभव सुन्छु," उनी भन्छिन्, "कतिपय अभिभावकहरूले फोन गरेर छोरीमा देखिएको सकारात्मक परिवर्तनबारे धन्यवाद दिनुहुन्छ।" उनले सिकाएका योगासनले कतिपय छात्राहरूको महिनावारीको समयमा हुने पेट दुखाइ कम भएको अनुभव उनीहरूसँग छ।
उनको अनुभवमा गाउँघरका विद्यालयहरूको अवस्था अझै पनि दयनीय छ। "विद्यालयमा छात्राहरूका लागि शौचालयको राम्रो व्यवस्था छैन। कतिपय ठाउँमा शौचालय भए पनि सफा हुँदैनन्, जसले गर्दा संक्रमणको खतरा रहन्छ," उनले बताइन्।
नेपाल सरकारले विद्यालयमा महिनावारी स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याए पनि त्यो पर्याप्त नभएको उनको तर्क छ। "प्रत्येक छात्रालाई महिनाको लागि एउटा मात्र प्याड दिइन्छ, जुन अपर्याप्त छ। आर्थिक स्थिति कमजोर भएका परिवारका किशोरीहरूले आवश्यक परे पनि थप प्याड किन्न सक्दैनन्," हरलल्काले भनिन्।
महिनावारीका बारेमा खुला रूपमा छलफल गर्नुपर्नेमा जोड दिँदै उनले समाजमा रहेको गलत धारणा हटाउन आवश्यक रहेको बताइन्।"