"महिला सफल हुनु परिवारको सहयोग अत्यन्तै महत्वपूर्ण हुन्छ," उद्योग विभाग वीरगंज, पर्सामा निमित्त महानिर्देशकका रूपमा कार्यरत बरिष्ठ शाखा अधिकृत रिमा साह भन्छिन्। मध्यम वर्गीय किसान परिवारमा जन्मिएकी साहले सरकारी सेवामा प्रवेश गर्न गरेको संघर्ष प्रेरणादायी छ।
बहुदरमाई नगरपालिका–८, रामनगरी पर्सामा जन्मिएकी साह ६ दिदीबहिनी र ३ दाजुभाइमध्ये कान्छी छोरी थिइन्। परिवार र समाजमा छोरीलाई पढाएर केही बनाउनु पर्छ भन्ने सोच त्यति प्रवल थिएन। कक्षा १० सम्म अध्ययन गर्दा समेत उनले आफ्नो लक्ष्य निर्धारण गरेकी थिइनन्। तर, एसएलसीपछि जब कलेजमा प्रवेश गरिन्, शिक्षिका महिलाहरूलाई निर्धक्क पढाइरहेको देख्दा उनी प्रभावित भइन्।
"मैले परिवार र समाजका महिलाहरूसँग आफूलाई तुलना गर्न थालेँ," साह भन्छिन्, "महिला शिक्षिकालाई अगाडि बसेर पढाउँदै गरेको देख्दा, म पनि केही फरक गर्नुपर्छ भन्ने सोच आयो।" त्यसपछि उनले अध्ययनमा ध्यान दिइन्। प्लस टु र स्नातकमा कलेज टपर भइन्।
लोकसेवाको यात्रा
स्नातक अध्ययनपछि उनले स्थायी जागिरका लागि लोकसेवा आयोग रोजिन्। खरदार र नायब सुब्बाका परीक्षामा असफल भए पनि उनले हार मानिनन्। "कलेजको परीक्षा र लोकसेवाको प्रतिस्पर्धामा धेरै अन्तर रहेछ," उनी भन्छिन्। काठमाण्डौं गएर शाखा अधिकृतको तयारी गर्दा परिवारबाट विवाहको दबाब थियो।
महिला विकास शाखा अधिकृतको अन्तर्वार्ताबाट असफल भएपछि उनी हतोत्साहित भइन्। तर, बुबाले सान्त्वना दिए। "म आफ्नो सपनालाई साकार बनाउन चाहन्थेँ," साह सम्झिन्छिन्। अन्ततः २०७४ सालमा तृतीय श्रेणी शाखा अधिकृतमा महिला कोटाबाट सिफारिस भइन् र वीरगंज महानगरपालिकामा काम गर्न थालिन्।
महिला नेतृत्वप्रति समाजको धारणा
समायोजनपछि घरेलु तथा साना उद्योग कार्यालय, पर्साको प्रमुखको जिम्मेवारी पाएकी साह भन्छिन्, "कार्यालय प्रमुख भएर कुर्सीमा बसेर काम गर्दा पनि सेवाग्राहीहरूले हाकिम कहाँ हुनुहुन्छ भनेर सोधेका घटना छन्। समाजले महिला प्रमुखलाई अझै सहज रूपमा स्वीकारेको छैन।"
कामसँगै सिक्दै गएकी उनले महिलाहरूले घर-परिवार र व्यक्तिगत जिम्मेवारीलाई सँगै सम्हाल्नुपर्ने चुनौतीबारे चर्चा गरिन्। "जागिरे भए पनि यदि घर-परिवारले सहयोग गरेन भने राम्रो काम गरेर देखाउन गाह्रो हुन्छ," साहको अनुभव छ।
महिला र सरकारी सेवा
उनका अनुसार विगतको तुलनामा सरकारी निकायमा महिलाहरूको संख्या वृद्धि भए पनि सफलताको बाटो अझै चुनौतीपूर्ण छ। धेरै महिला लोकसेवा परीक्षामा केही प्रयासपछि असफल हुँदा छोडिदिन्छन्। "एक-दुई पटक नाम निस्केन भन्दै हरेस खानु हुँदैन। आत्मबल, हिम्मत राखेर निरन्तर तयारी गर्नुपर्छ," उनी भन्छिन्।
महिला कर्मचारीलाई जागिरसँगै पारिवारिक जिम्मेवारीलाई सन्तुलनमा राख्नुपर्दा दोहोरो चुनौती हुने उनको अनुभव छ। "महिला सफल हुन परिवारको सहयोग अनिवार्य छ," साह भन्छिन्।
घरेलु कार्यालय, पर्साको प्रमुख हुँदा उनी मधेश प्रदेशमा एक्ली महिला प्रमुख थिइन्। अहिले भने त्यहाँ दुई जना महिला प्रमुख भइसकेका छन्। "यसले केही परिवर्तनको संकेत गर्छ," उनी भन्छिन्।
आरक्षणले महिलाको सहभागिता वृद्धि
साहका अनुसार निजामती सेवा ऐन २०४९ अनुसार आरक्षण व्यवस्था भए पनि संविधान संसोधनपछि २०६४ सालमा ४५ प्रतिशत आरक्षणको व्यवस्था लागू गरियो। ४५ प्रतिशतलाई शतप्रतिशत मान्दा महिलाका लागि ३३ प्रतिशत कोटा व्यवस्था गरिएको छ, जसले सरकारी सेवामा महिलाको संख्यामा वृद्धि गरेको छ।
"सरकारी सेवामा महिलाहरू बढ्दै छन्, तर प्रभावकारी कार्य सम्पादनका लागि परिवारको साथ र निरन्तर मेहनत जरुरी छ," साहको निष्कर्ष छ।