प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राजमार्गको संज्ञा दिँदै पछाडि फर्किनु नपर्ने बताएका छन्।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व सम्मेलन २०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार सुशासन र आर्थिक समृद्धिको मार्गमा अघि बढ्न प्रतिबद्ध रहेको बताए।
लोकतन्त्रको निरन्तरता आवश्यक
प्रधानमन्त्री ओलीले वर्तमान गणतान्त्रिक प्रणालीलाई लोकतन्त्रको राजमार्ग भन्दै यसलाई पछाडि फर्काउन नसकिने उल्लेख गरे।
"लोकमार्गमा ब्याक गियर लगाइँदैन। लोकतन्त्र हाम्रो राजमार्ग हो, यसमा अब पछाडि फर्किने कुरै छैन," उनले भने।
उनले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, सरकारले पछाडि नहट्ने र आर्थिक विकासलाई सशक्त बनाउने लक्ष्य राखेको छ।
महिला सशक्तीकरणमा जोड
प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई परिवर्तनशील तथा गतिशील शक्तिका रूपमा चित्रण गरेको उल्लेख गर्दै समान सहभागिताको आवश्यकतामा जोड दिए।
"रथको एउटा पाङ्ग्रो मात्रै चलेर यात्रा सम्भव छैन। त्यसैले महिला र पुरुषको समान सहभागिताबाट समाजलाई अघि बढाउनुपर्छ," उनले भने।
उनले राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिलाको प्रतिनिधित्व वृद्धि भएको स्मरण गराउँदै शिक्षा, उद्यमशीलता र रोजगारीका अवसरमा उनीहरूको संख्यात्मक उपस्थिति मात्र होइन, प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीको भनाइमा, सामाजिक न्याय र समानताका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अझ आवश्यक छ। "गरिबी उन्मूलनका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ," उनले जोड दिए।