न्यूक्यासल युनाइटेडले अन्ततः आफ्नो ५६ वर्षको प्रतिक्षालाई समाप्त गर्दै क्याराबाओ कपको उपाधि जितेको छ। शनिबार राति वेम्बली रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा न्यूक्यासलले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गर्यो।
यो जितले न्यूक्यासलका समर्थकहरूका लागि मात्र नभई सम्पूर्ण क्लबको लागि विशेष अर्थ राख्छ। सन् १९५५ मा एफए कप जितेपछि वेम्बलीमा लगातार ९ पटक पराजित भएको इतिहासलाई तोड्दै, अन्ततः क्लबले ठूलो उपाधि हात पार्न सफल भयो।
न्यूक्यासलका नायकहरू
न्यूक्यासलको जितमा ड्यान बर्न र अलेक्ज्याण्डर इसाक नायक सावित भए। पहिलो हाफको इन्जुरी समयमा बर्नले किरण ट्रिपियरको कर्नर बलमा उत्कृष्ट हेडर गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा इसाकले अर्को गोल थप्दै खेललाई न्यूक्यासलको नियन्त्रणमा राखे।
लिभरपुलका लागि फेडेरिको चिएसाले इन्जुरी समयमा एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन। खेलको अन्तिम केही मिनेटमा न्यूक्यासलका समर्थकहरूका लागि तनावपूर्ण माहोल बनेको थियो, तर प्रशिक्षक एडी हाउको टिमले उत्कृष्ट रक्षा गर्दै ऐतिहासिक जित सुनिश्चित गर्यो।
एडी हाउ - ऐतिहासिक प्रशिक्षक
एडी हाउ न्यूक्यासलका लागि अब केवल एक प्रशिक्षक मात्र होइनन्, उनी क्लबको इतिहासमा अमर भइसकेका छन्। सन् २०२१ मा स्टिभ ब्रुसको ठाउँ लिएपछि उनले न्यूक्यासललाई नयाँ उचाइमा पुर्याएका छन्। गत सिजन च्याम्पियन्स लिगको यात्रा तय गरेको टिमले यो पटक उपाधि जितेर आफ्नो पुनरुत्थानको प्रमाण दिएको छ।
हाउले जितपछि भने, “यो जित क्लब र हाम्रा समर्थकहरूका लागि विशेष छ। हामी इतिहास बनाउने प्रयास गरिरहेका थियौं र हामी सफल भयौं। यो जित न्यूक्यासल शहरका लागि समर्पित छ।”
न्यूक्यासलका समर्थकहरूको उत्सव
खेलको अन्तिम सिट्टी बज्दा न्यूक्यासलका समर्थकहरू खुसीले आँसु झार्न बाध्य भए। ब्ल्याक एन्ड ह्वाइटको लहरले वेम्बली रंगशालालाई ओगट्यो, समर्थकहरू आफ्नो प्रिय टिमको ऐतिहासिक जितमा रमाइरहेका थिए।
अब यो विजय उत्सव न्यूक्यासल शहरसम्म पुग्नेछ, जहाँ क्लबका लाखौं समर्थकहरू यो विशेष क्षण मनाउनेछन्। ५६ वर्षको प्रतिक्षापछि आएको यो जित न्यूक्यासल युनाइटेडको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ।