"महिलाको नेतृत्वलाई समाजले अहिले पनि पूर्ण रूपमा स्वीकार्न सकेको छैन," सेस्मी बोडिङ स्कूलकी प्रधानाध्यापक आस्मा सिंह यादव भन्छिन्। विगत १० वर्षदेखि विद्यालय सञ्चालन गर्दै आएकी सिंह नेतृत्वदायी भूमिकामा महिलाले भोग्ने चुनौतीबारे खुलस्त कुरा गर्छिन्।
विद्यालय सञ्चालनमा धेरै समस्याहरूको सामना गर्नुपरेको बताउँदै उनी भन्छिन्, "काम गर्दा साथ र सहयोग पाइन्छ, तर समस्या पनि आउँछ। अभिभावकहरूले समयमा शुल्क नतिर्नु, समय नदिनु जस्ता चुनौती अझै कायम छन्। विद्यालय टिकिरहनुमा सबैको भूमिका हुन्छ, केवल मेरो मात्र होइन।"
विद्यालय सञ्चालनका क्रममा विभिन्न जाति-धर्मका विद्यार्थी र अभिभावकहरूको विविधता व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको उनको अनुभव छ। "बालबालिकाका अभिभावकबीच कहिलेकाहीँ विवाद उत्पन्न हुन्छ। यस्तो बेला समस्या समाधान गर्नुपर्छ। अभिभावकलाई विद्यालय परिवारको अभिन्न अंगका रूपमा लिएको छु," उनी भन्छिन्।
महिलाको नेतृत्व स्वीकार्न समाजलाई अझै गाह्रो
नेतृत्वमा महिला देख्दा समाजले अझै सहज रूपमा स्वीकार नगर्ने उनको बुझाइ छ। आफ्नै अनुभव सुनाउँदै सिंह भन्छिन्, "एउटा अभिभावक मेरो अफिसमा आएर 'सर कहाँ हुनुहुन्छ?' भनेर सोध्नुभयो। जब कि, म त्यही कुर्सीमा बसेकी थिएँ।"
सामाजिक धारणा अझै पनि परम्परागत सोचमा आधारित रहेको उनको भनाइ छ। "पुरुष प्रधान पदहरूमा महिलालाई स्वीकार गर्न समाजलाई अझै समय लाग्ने देखिन्छ। तर विस्तारै सोचमा परिवर्तन आइरहेको छ," सिंह थप्छिन्।
महिला र पुरुष नेतृत्वमा भिन्नता
नेतृत्वमा महिला र पुरुषबीच सोच र व्यवहारमा फरक हुने बताउँदै उनी भन्छिन्, "पुरुषले जति समर्थन पाउँछन्, त्यति महिलाले पाउँदैनन्। महिलाले नेतृत्व गर्दा क्षमतामा शंका गर्ने प्रवृत्ति अझै समाजमा छ।"
तर, महिलाको नेतृत्व झन् पारदर्शी हुने उनी बताउँछिन्। "हाम्रो विद्यालयमा महिला-पुरुष दुवै छन्। जो योग्य छन्, उनीहरूलाई समान अवसर दिनुपर्छ। महिलाहरूले नेतृत्व गर्दा बढी सफा निर्णय लिन्छन्," प्रधानाध्यापक सिंह बताउँछिन्।
आरक्षणको आवश्यकता किन?
महिलालाई समान अवसर दिन आरक्षण आवश्यक रहेको उनको तर्क छ। "हामी समान प्रतिस्पर्धामा छौं, तर महिलाहरूले घरको दोहोरो भूमिका निभाउनु पर्ने बाध्यता छ। यसले उनीहरूको सीप देखाउने अवसरलाई सीमित बनाउँछ।"
अनुशासन र धैर्यता सफलताका मुख्य सूत्र
जिवनमा अनुशासनको महत्वबारे बोल्दै प्रधानाध्यापक सिंह भन्छिन्, "अनुशासनमा बस्ने मानिसको जिवन सहज हुन्छ। विद्यार्थीहरूलाई पनि म जहिले अनुशासनको महत्व बुझाउँछु। अनुशासनबिना सफलता सम्भव छैन।"
धैर्यतालाई जीवनको शक्ति ठान्ने उनी भन्छिन्, "धैर्यता भनेको शक्ति हो। धैर्यताले भित्रैदेखि आत्मबल बढाउँछ। यदि हामी आत्तियौं भने सबै काम बिग्रन्छ।"
विद्यालय सञ्चालनदेखि महिला नेतृत्वमा भोग्ने चुनौतीसम्म, प्रधानाध्यापक सिंहले शिक्षण क्षेत्रमा महिलाको भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा राखेकी छिन्। "परिवर्तन आइरहेको छ, तर अझै धेरै गर्न बाँकी छ," उनी भन्छिन्।