“११–१२ वर्षको उमेरमा मात्रै मैले बुझ्न थालेँ कि मेरो यौनिकता र पहिचान अरुभन्दा फरक छ,” ब्लुहेभन नेपालकी प्रोजेक्ट कोर्डिनेटर पूर्णिमा श्रेष्ठ भन्छिन्। नवलपरासीको बर्दघाटमा जन्मिएर हाल बाराको कलैयालाई कर्मथलो बनाएकी श्रेष्ठ तेश्रो लिङ्गी समुदायको हितमा क्रियाशील छिन्।
पहिचानको खोजी
बालकका रूपमा जन्मिए पनि आफु वास्तवमा महिला भएको अनुभूति उनले किशोरावस्थामा मात्रै गर्न थालिन्। “मेरो चालचलन केटीहरूकै जस्तो थियो, तर समाजले मलाई त्यो स्वीकार गर्न सकेन। म किन यस्तो भएँ भनेर बारम्बार प्रश्न गर्थें,” उनले भनिन्। परिवार र समाजबाट अस्वीकृति खेप्दा उनले बाल्यकालमा पटक–पटक आत्महत्यासम्मको प्रयास गरेकी थिइन्।
समाजको असहज दृष्टिकोण
तेश्रो लिङ्गी भएको थाहा पाएपछि उनले पहिलोपटक कसैलाई भन्ने आँट नै गर्न सकिनन्। “घरमा आमा–बुबाले ‘तेरो बानी केटीहरूकै जस्तो छ’ भन्दै सुधार्न दबाब दिनुहुन्थ्यो। समाजले कुरा काट्थ्यो, विद्यालयमा साथीहरू जिस्काउँथे,” उनी सम्झिन्छिन्।
पारिवारिक संघर्ष र आत्मस्वीकार
घरमा सबैभन्दा ठूलो चुनौती दाइको अस्वीकार थियो। “एक दिन साथीहरूसँग खेलिरहेकी थिएँ, दाइ आएर मलाई ‘छक्का’ भनेर गाली गर्नुभयो। म भित्रभित्रै भत्किएँ, बारम्बार आत्महत्याको प्रयास गरेँ,” उनी भन्छिन्। यद्यपि, आमाबाबु र दिदीले भने उनलाई साथ दिए। “दिदीले सधैं मलाई बहिनीको रूपमा स्वीकार गर्नुभयो,” श्रेष्ठ बताउँछिन्।
शिक्षा र संघर्षको यात्रा
श्रेष्ठले नवलपरासीबाट एसएलसी गरेपछि पाल्पामा प्लस टु पूरा गरिन्। त्यसक्रममा उनी समाजमा आफ्नो जस्तै अन्य व्यक्तिहरू पनि रहेको बुझ्दै गइन्। “एलजिबीटिआइ समुदायका साथीहरू भेटेपछि आत्मविश्वास बढ्यो। मैले वीरगंज आएर स्नातकोत्तरसम्मको शिक्षा लिएँ,” उनी भन्छिन्।
कर्मथलो बारामा संघर्ष र सेवा
पढाइसँगै बारामा सामाजिक कार्यमा संलग्न उनले सुरुवातमा धेरै चुनौती झेल्नुपर्यो। “फिल्डमा जाँदा मानिसहरू ‘छक्का, हिजडा’ भन्दै जिस्काउँथे। तर म नम्र भएर बुझाउने गर्थें,” श्रेष्ठ भन्छिन्। उनले एचआइभी/एड्स सचेतना, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार प्रवर्द्धन गर्दै आएकी छन्।
एल (लेस्बियन): महिला समलिङ्गी, जसले महिलालाई नै आकर्षक ठान्छन्।
जि (गे): पुरुष समलिङ्गी, जसले पुरुषलाई नै मन पराउँछन्।
बि (बाइसेक्सुअल): दुबै लिङ्गप्रति आकर्षित हुने व्यक्ति।
टि (ट्रान्सजेन्डर): जन्मिदा पुरुष भएर महिला बन्ने वा जन्मिदा महिला भएर पुरुष बन्ने व्यक्ति।
आई (इन्टरसेक्स): जन्मजात अस्पष्ट यौनाङ्ग भएका व्यक्ति।
क्यु (कुइर): यौनिक तथा लिङ्ग पहिचानमा परम्परागत परिभाषाभन्दा फरक पहिचान भएका व्यक्ति।
‘संघर्ष नगर्ने मानिस होइन’
आफ्नो पहिचान स्वीकार्दै संघर्षको बाटो समातेकी श्रेष्ठ भन्छिन्, “संघर्ष नगर्ने मानिस नै होइन। समाजले परिवर्तनलाई स्वीकार्न समय लाग्छ, तर हामी बोल्न र हिँड्न छाड्नुहुँदैन।”