नेपालमा भारतीय पर्यटकहरूले डिजिटल भुक्तानी प्रविधिको व्यापक प्रयोग गर्दै फोनपे क्यूआरमार्फत एक वर्षमा १.६ अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेका छन्। भुक्तानी सेवा प्रदायक फोनपे ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच लाख ६० हजारभन्दा बढी भारतीय पर्यटकले यूपीआईमार्फत सहज रूपमा भुक्तानी गरेका हुन्।
नेपालमा फोनपे र एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड को सहकार्यमा यूपीआई भुक्तानी सेवा सुरु गरेको एक वर्ष पूरा भएको छ। फोनपेले लिङ्क्डइन पोस्टमार्फत भनेको छ, "हामीले एक वर्षअघि भारतीय पर्यटकहरूका लागि सहज डिजिटल भुक्तानी सेवा सुरु गर्यौं। त्यसयता, भारतीय पर्यटकहरूले ठमेलका पसलदेखि सगरमाथा आधार शिविरसम्म डिजिटल भुक्तानी गर्न थालेका छन्।"
फोनपेका अनुसार भारतीय पर्यटकहरूले सबैभन्दा बढी बागमती प्रदेशमा ४४ प्रतिशत खर्च गरेका छन्। त्यस्तै, गण्डकीमा १५ प्रतिशत, सुदूरपश्चिममा १४ प्रतिशत, मधेश र लुम्बिनीमा नौ/नौ प्रतिशत, कोशीमा आठ प्रतिशत तथा कर्णालीमा एक प्रतिशत कारोबार भएको छ।
क्षेत्रगत हिसाबले २७ प्रतिशत खुद्रा पसलहरूमा, १९.६८ प्रतिशत रेस्टुरेन्टहरूमा, १५.४ प्रतिशत होटेल तथा रिसोर्टमा खर्च गरिएको छ। भारतीय पर्यटकहरूले २५ रुपैयाँको चियादेखि १ लाख ६० हजार रुपैयाँसम्मको ट्रेकिङ खर्च समेत फोनपे क्यूआरमार्फत तिरेका छन्।
भुक्तानी रकमका आधारमा ४२ प्रतिशत कारोबार एक हजारदेखि पाँच हजार रुपैयाँसम्म रहेको छ। त्यस्तै, ४८ हजारभन्दा बढी भारतीय पर्यटकले तीन पटकभन्दा बढी फोनपे क्यूआर स्क्यान गरेर यूपीआईमार्फत भुक्तानी गरेका छन्।
नेपालमा डिजिटल भुक्तानी सेवामा विदेशी पर्यटकहरूको सहभागिता बढ्दै गएको संकेतस्वरूप फोनपेको सीमापार कारोबारले भारतीय पर्यटकलाई खर्च गर्न अझ सहज बनाएको देखिन्छ।