“महिलाहरूले राजनीति गरिरहेका छन्, तर उनीहरूका लागि अवसर सहज छैन,” वीरगंजकी चर्चित महिला नेतृ रम्भा मिश्रा भन्छिन्। झन्डै २५ वर्षदेखि राजनीति गर्दै आएकी मिश्रा भन्छिन्, “राजनीतिमा महिलाहरू अगाडि बढ्न शिक्षित हुनु आवश्यक छ, तर व्यवहारिक रूपमा ३३ प्रतिशत महिलाको लागि व्यवस्था गरिएको आरक्षण पूर्ण रूपमा लागू हुन सकेको छैन।”
सिन्धुलीमा जन्मिए पनि नेपालको विभिन्न ठाउँमा घुम्ने अवसर पाएकी मिश्राले दाङबाट एसएलसी गरेकी थिइन्। राजनीति यात्राका अनुभव बाँड्दै उनले गठबन्धनप्रति कटाक्ष गरिन्।
गठबन्धन महिलामाथि हावी हुने माध्यम
गठबन्धनबारे प्रश्न गर्दा मिश्रा भन्छिन्, “गठबन्धनलाई जबरजस्ती लाद्ने प्रयास गरिन्छ, जसले पाँच वर्ष परिश्रम गरेका कार्यकर्ताहरूलाई नै पाखा लगाउँछ।” उनले विशेष गरी महिलाहरू गठबन्धनबाट सबैभन्दा बढी प्रभावित हुने बताइन्। “पुरुषहरू आधा रातमा बैठक गर्छन्, नियम बनाउँछन्, तर महिलाहरू तिनमा सहभागी हुन सक्दैनन्,” उनको तर्क छ।
मधेश आन्दोलन र महिलाको भूमिका
मधेश आन्दोलनले महिलाहरूलाई ३३ प्रतिशत आरक्षण उपलब्ध गराएको भए पनि वास्तविक कार्यान्वयन कमजोर रहेको मिश्राको भनाइ छ। “महिलाहरू काम गर्न जान्छन्, तर कागजमा काम गर्न जान्दैनन्। योजनाहरू बनाउन नजान्दा कार्यान्वयनमा समस्या आउँछ,” उनी भन्छिन्।
महिला नेतृत्व र स्वाभिमानको सवाल
राजनीतिमा महिलाको निर्णायक भूमिकाबारे मिश्रा भन्छिन्, “दक्षिण एसियाका देशहरूमा महिला नेतृत्व स्थापित भए पनि नेपालमा महिला नेतृत्व अझै कमजोर छ।” नेपालमा राष्ट्रपति पदमा महिला पुगे पनि कार्यकारी भूमिकामा नपुगेको उनले उल्लेख गरिन्।
स्वाभिमानको बारेमा उनको बुझाइ छ, “स्वाभिमान कुनै व्यक्तिले दिएर प्राप्त गर्ने कुरा होइन। यो प्रत्येक व्यक्तिको भित्रबाट आउनुपर्छ।”
मधेशको मुख्य आवश्यकता : चेतनाको विकास
मधेशमा पूर्वाधार विकास भए पनि चेतनाको स्तर वृद्धि हुन नसकेको मिश्राको निष्कर्ष छ। “गाउँगाउँमा सडक बन्दै छन्, विद्युतीय पोल गाडिँदै छन्, तर मानिसहरूका सोच र चेतनाको स्तर उस्तै छ। चेतनाको विकास विना सही परिवर्तन सम्भव छैन,” उनले बताइन्।
राजनीति, अनुशासन र धैर्यता
राजनीतिमा सफलताका लागि अनुशासन र धैर्यता अनिवार्य रहेको मिश्राको धारणा छ। “व्यक्तिगत अनुशासन मात्र होइन, संगठनको अनुशासनले नै समाजको विकासलाई अघि बढाउँछ,” उनले भनिन्।
राजनीतिमा सक्रिय महिलाका रूपमा आफुले भोगेका अनुभव सुनाउँदै उनले भनिन्, “महिलाहरूले नेतृत्व गर्न सिक्नुपर्छ, किनभने समयको माग यही हो।”