महिलालाई अगाडि बढाउन महिलाकै सहयोग आवश्यक छ भन्ने मान्यता राख्ने विजैया ओझैया शिक्षासँगै समाजसेवामा पनि सक्रिय छन्। रोयल एकेडेमी की फाउन्डर प्रिन्सिपल तथा थारु कल्याणकारी महिला सभा की अध्यक्षसमेत रहेकी उनले महिलाले नेतृत्व लिनका लागि आत्मनिर्भर हुनुपर्ने बताउँछिन्।
महिला नेतृत्वको चुनौती र समाधान
नेतृत्व लिन चाहने महिलाहरूका लागि समाजमा अझै धेरै चुनौतीहरू छन्। तर, ती चुनौतीलाई अवसरमा बदल्ने क्षमता महिलामै रहेको ओझैया बताउँछिन्। "महिलाहरू नै महिलाहरूको सहयोगी हुनुपर्छ। समाजले महिलालाई महिलाकै शत्रु देखाउने भ्रम सिर्जना गर्छ। यस्तो अवस्थामा महिलाहरूले आत्मनिर्भर बन्ने सोच राख्नुपर्छ। चुनौतीहरूसँगै समाधान पनि हामीभित्रै हुन्छ," उनले भनिन्।
महिलाको जिम्मेवारी र समाजको दृष्टिकोण
ओझैयाका अनुसार महिलाहरू समाजका विभिन्न भूमिकामा रहन्छन् – छोरी, श्रीमती, आमा। यी सबै जिम्मेवारी सफलतापूर्वक पूरा गर्नका लागि उनीहरूले आत्मनिर्भर बन्नु आवश्यक छ। "जब महिलाले आफ्नो जिम्मेवारीलाई बोझ होइन, कर्तव्यका रूपमा लिन्छन्, तब सन्तुष्टि प्राप्त हुन्छ। काम गर्ने इच्छाशक्ति बलियो भएमा सफलताको ढोका आफैं खुल्छ," उनी भन्छिन्।
अनुशासन र सफलताको सम्बन्ध
अनुशासनबिना कुनै पनि सफलता प्राप्त हुन नसक्ने उनको ठम्याइ छ। "बिहान उठ्ने समयदेखि नै अनुशासन सुरू हुन्छ। अनुशासनबिना उठ्न सकिँदैन, काम गर्न सकिँदैन। मर्यादित भएर कुनै काम गर्दा समस्या आउँदैन," उनले भनिन्। उनी थप्छिन्, "सफल हुन चाहनेहरूका लागि अनुशासन अनिवार्य हुन्छ।"
विद्यालय सञ्चालन र शिक्षण प्रणाली
शिक्षण क्षेत्रमा संलग्न ओझैया रोयल एकेडेमीलाई अनुशासित तथा संस्कारयुक्त शिक्षा दिने संस्थाका रूपमा अघि बढाइरहेकी छन्। विद्यालय हाल कक्षा ८ सम्म सञ्चालन भइरहेको छ। "हामी अभिभावकहरूको विश्वास जित्न सफल भएका छौं। शिक्षा प्रणालीमा अनुशासन, नैतिकता र संस्कार अनिवार्य हुनुपर्छ। केवल किताबी ज्ञान पर्याप्त हुँदैन," उनी बताउँछिन्।
संस्कारयुक्त शिक्षा आवश्यक
विद्यालयमा विद्यार्थीहरूले शिक्षा मात्र होइन, संस्कार पनि सिक्नुपर्छ भन्ने उनी जोड दिन्छिन्। "अभिभावकहरू अन्ततः रिजल्ट हेर्छन्, तर विद्यार्थीले विद्यालयमा कस्तो संस्कार सिके? कस्तो अनुशासन पाले? यिनले पनि ठूलो फरक पार्छ। परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ," ओझैया बताउँछिन्। उनका अनुसार शिक्षालयमा संस्कारयुक्त वातावरण सिर्जना गर्नका लागि शिक्षकहरू पनि अनुशासित हुन आवश्यक छ।
खुशीको वास्तविक परिभाषा
व्यक्तिगत रूपमा खुशी के हो भन्ने विषयमा ओझैया भन्छिन्, "यदि कुनै काम गर्दा म सन्तुष्ट छु भने, म खुशी छु। हाम्रो सन्तुष्टि नै हाम्रो वास्तविक खुशी हो।"
शिक्षण पेसासँगै महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील ओझैया शिक्षामार्फत समाज रूपान्तरण गर्ने सोचका साथ अघि बढिरहेकी छन्। महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उनले शिक्षा नै सबैभन्दा महत्वपूर्ण माध्यम भएको बताएकी छन्।