वीरगञ्जकी व्यवसायी तथा समाजसेवी गुड्डी जोशीको नाम अहिले सौन्दर्य उद्योगमा परिचित छ। फेमिन ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको सञ्चालकका रूपमा उनले आफ्नो पहिचान स्थापित गरेकी छन्। २० वर्षदेखि सौन्दर्य व्यवसायमा सक्रिय जोशीले अन्तर्राष्ट्रियस्तरमै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन्।
सुरुआती संघर्ष र विवाहपछिको चुनौती
गुड्डी जोशीको जन्म मधेसमै भएको हो। उनका अनुसार, "मेरो बाल्यकाल वीरगञ्जको विर्तामा बित्यो। त्यहाँका साथीभाइसँगको सम्बन्ध अझै पनि आत्मीय छ।" उनी त्रिशूली निवासी बाबु र दार्जिलिङकी आमाकी छोरी हुन्।
१५ वर्षमै विवाह गरेपछि उनको जीवनमा नयाँ मोड आयो। "म क्षेत्री परिवारकी छोरी, माइतीको थर बस्नेत। विवाहपछि जोशी थर राख्दा अन्तरजातीय विवाहको कारण केही चुनौती आए। तर, यदि मैले आफ्नो थर परिवर्तन नगरेकी भए, सायद यो पहिचान बनाउन सक्दिनथेँ," उनले सुनाइन्।
पारिवारिक जिम्मेवारी र आत्मनिर्भरता
परिवारमा दुई छोरी हुर्काउँदै उनले व्यवसायिक क्षेत्रमा पाइला चालिन्। "म जहिले पनि गृहिणी भएर बस्न सक्दिन भन्ने लाग्थ्यो। केही गर्नु छ, आफ्नो नाम चिनाउनु छ, सक्षम र साहसी महिला बन्नुछ भन्ने सोचले बाहिर निस्किएँ।" समाज सेवामा रुचि राख्ने जोशीले व्युटी पार्लर खोल्ने निर्णय गरिन्।
तर, पार्लर खोल्ने निर्णय सहज थिएन। "घरबाट अनुमति थिएन, श्रीमान्को पैसाले मात्र चल्ने जीवन मलाई स्वीकार्य थिएन। त्यसैले आफैंले केही गर्नुपर्छ भनेर अघि बढें।"
संघर्षको यात्रा र सफलताको आधार
सुरुवाती लगानीबारे उनले सुनाइन्, "केही पैसा बचत थियो, केही गहना बेचेर सानो पार्लर सुरु गरें। पहिलो आम्दानी १५ रुपैयाँ थ्रेडिङबाट भयो। त्यसपछि महावीरस्थानमा ठूला स्तरमा पार्लर सञ्चालन गरें।"
उनले व्यावसायिक दक्षता बढाउन भारतका विभिन्न शहरमा तालिम लिइन्। "३ लाख भारु खर्च गरेर मुम्बईमा तालिम लिएको थिएँ, दिल्लीमा स्किन केयर कोर्स पनि गरें। अहिले म वीरगञ्जमा सीटीईभीटी तालिम दिने पहिलो महिला हुँ।"
महिलाका लागि चुनौती र अवसर
जोशी भन्छिन्, "हामी जति अगाडि बढे पनि समाज अझै पुरुषप्रधान छ। महिलाले श्राद्ध गर्न पाउँदैनन्, अझै पनि बाधा छन्। तर, महिलाले चाहे सबै गर्न सक्छन्।"
आज उनले आफ्नो व्यवसायलाई मात्र होइन, अन्य महिलालाई सक्षम बनाउने काम गरिरहेकी छन्। "मेरो विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, लन्डनलगायतका देशहरूमा रोजगारी गरिरहेका छन्। ८ सयभन्दा बढीलाई तालिम दिइसकेकी छु।"
समाज सेवा र भविष्यको योजनाहरू
जोशी नेपाल–भारत मैत्री संघ, एम्बेसी, र लायन्स क्लबमा आवद्ध छिन्। "समाज सेवा गर्न संस्थागत रूपमा लाग्नु राम्रो लाग्छ। १४ वर्षदेखि लायन्स क्लबमा सक्रिय छु," उनले सुनाइन्।
भविष्यबारे उनी भन्छिन्, "म अझै केही गर्न चाहन्छु। प्रतिस्पर्धा धेरै छ, तर म पछि पर्नेवाला छैन। वीरगञ्जमा सौन्दर्य व्यवसायलाई अझै मजबुत बनाउने मेरो लक्ष्य छ।"
गुड्डी जोशीको संघर्ष, आत्मनिर्भरता र समाज सेवाप्रतिको लगाव आजका युवतीहरूका लागि प्रेरणादायी छ।