"महिला तबसम्म सफल हुँदैन, जबसम्म आफ्नै खुट्टामा उभिँदैन," भन्छिन् राधेकृष्ण मेहेन्दी ट्रेनिङ्ग सेन्टर की सञ्चालिका श्वेता गुप्ता। उनी मेहेन्दी व्यवसायलाई आत्मनिर्भरताको प्रतीकका रूपमा अघि बढाउँदै आएकी छन्। व्यवसाय सञ्चालनसँगै परिवार र सामाजिक उत्तरदायित्वलाई समान रूपमा सन्तुलनमा राख्नु पर्ने उनले बताइन्।
शिक्षित परिवारमा जन्मेकी श्वेताको सपना बैंकमा जागिर खाने थियो। तर, जीवनले उनलाई फरक मोडमा ल्यायो। "मेहेन्दी मेरो सौख थियो, तर यही पेशा बन्न पुग्यो," उनी भन्छिन्। सुरुमा आफू मात्र सिक्न थालेकी थिइन्। विस्तारै छरछिमेकका महिलाहरूलाई सिकाउन थालिन्। "एउटा महिलाले जब आफैँ केही गर्छे, तब समाजले विभिन्न किसिमका टिप्पणी गर्छ। मलाई पनि धेरैले हतोत्साहित गरे। तर, मैले हार मानिन," उनी सम्झन्छिन्।
बचतबाट व्यवसायको सुरूआत
श्वेताले आफ्नै बचतबाट राधेकृष्ण मेहेन्दी ट्रेनिङ्ग सेन्टर सुरु गरिन्। "१३ वर्षअघि ५ सय रुपैयाँको पनि ठूलो महत्व थियो। बचत गरेका पैसाबाट २० हजार ऋण लिएर सेन्टर खोलें। सुरुमा थोरै संख्यामा विद्यार्थी थिए। विस्तारै संख्यामा वृद्धि हुँदै गयो," उनी भन्छिन्।
आज यो सेन्टर नेपालकै पहिलो सरकारी मान्यता प्राप्त अनलाइन मेहेन्दी तालिम केन्द्र बनेको छ। "अनलाइन तालिम राति ८ देखि १० बजेसम्म सञ्चालन गर्छौं, ताकि दिनभर काममा व्यस्त दिदीबहिनीहरू पनि सिक्न सकून्," उनले जानकारी दिइन्। नेपालका विभिन्न सहरदेखि विदेशसम्मका महिलाहरू अनलाइन तालिममा जोडिइरहेको उनी बताउँछिन्।
सपना बैंकिङ थियो, तर व्यवसायी बनिन्
"बैंकमा काम गर्ने सपना थियो, तर जीवनले मलाई व्यवसायतर्फ मोडिदियो," श्वेता भन्छिन्। उनका अनुसार, पहिले जागिरका लागि सोर्सफोर्स चाहिन्थ्यो। "पढाइ राम्रै गरेकी थिएँ, तर अवसर पाइएन। त्यसैले सिप सिकेर अघि बढ्ने सोच बनाएँ। अहिले लाग्छ, जे भयो, राम्रोकै लागि भयो," उनी मुस्कुराउँदै भन्छिन्।
आज श्वेताले ७ हजारभन्दा बढी महिलाहरूलाई तालिम दिइसकेकी छन्। "मेरो विद्यार्थीहरू नेपालदेखि विदेशसम्म पुगेका छन्। वीरगन्जका धेरैजसो पार्लर तथा ब्युटी सैलुनमा काम गरिरहेका मेहेन्दी कलाकार मेरा विद्यार्थी नै हुन्," उनी गर्वका साथ बताउँछिन्।
समाजले के भन्छ भनेर सोचेर अघि बढ्न सकिँदैन
व्यवसाय सुरु गर्दा समाजबाट असहज प्रश्नहरू पनि उठे। "म मधेशी समाजको छोरी, त्यो पनि परिवारको जेठी छोरी। धेरैले भने– राम्रो पढेकी छोरीलाई काममा लगायो। छोरी घरबाहिर काम गर्न थालेपछि विवाह गर्न गाह्रो हुन्छ भनेर सल्लाह दिन्थे। तर, म समाजको सोचलाई तोड्न चाहन्थेँ," उनी भन्छिन्।
उनी व्यवसाय मात्र होइन, सामाजिक सेवामा पनि सक्रिय छन्। लायन्स क्लब अफ वीरगञ्जमा आबद्ध भएपछि समाजमा महिलाहरूको उपस्थितिलाई लिएर प्रश्न उठेको सम्झिन्छिन्। "पुरुषहरूसँग काम गर्छे भनेर आलोचना भयो। तर, महिलाले पनि अगाडि बढ्न सक्छिन् भन्ने सन्देश दिन आवश्यक थियो," उनी भन्छिन्।
पहिले र अहिलेको फरक
श्वेताका अनुसार, पहिले मेहेन्दी सीमित समुदायमा मात्र लोकप्रिय थियो। "पहिला दुई-चार जनालाई मात्र मेहेन्दी लगाउन जान्थ्यौँ, अहिले एक दिनमा ७० जनालाई सेवा दिन सकिन्छ। डिजिटल प्रविधिले व्यवसायलाई विस्तार गर्न धेरै सहयोग गरेको छ," उनी भन्छिन्।
महिलाहरूलाई प्रेरणादायी सन्देश
"सफलता पढाइले मात्र हुँदैन, सिपले पनि मान्छेलाई अघि बढाउँछ," उनी भन्छिन्। महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भए मात्रै समाजमा सम्मान पाउने उनको विश्वास छ। "आज महिलाले पनि जागिरमात्र होइन, आफ्नै व्यवसाय पनि गर्न सक्छिन् भन्ने प्रमाणित भइसकेको छ," उनी निष्कर्ष निकाल्छिन्।