ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन। मतगणनामा अनावश्यक ढिलाइ गर्दै निर्वाचन समिति र क्याम्पस प्रशासनले पारदर्शिता गुमाएको आरोप लागेको छ।
मंगलबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेदेखि नै मतगणना सुरु गर्ने घोषणा गरिए पनि क्याम्पस प्रशासन र प्रमुख निर्वाचन अधिकृतले विभिन्न बहानामा मतगणना स्थगित गर्दै आएका छन्। विद्यार्थी संगठनका अनुसार, मंगलबार राति २:१५ बजे अचानक सूचना टाँसेर मतगणना बुधबार बिहान १० बजेसम्मका लागि सारियो। तर, तोकिएको समयभन्दा दुई घण्टा बितिसक्दा पनि मतगणना सुरु हुन सकेको छैन।
विद्यार्थी र प्रहरीबीच झडप
मतगणना स्थलमा प्रतिनिधि बस्ने विषयलाई लिएर विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच तनाब बढ्दै गएको छ। मंगलबार राति मतगणना स्थल अगाडि बसेका विद्यार्थीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो। बुधबार बिहान मतगणनामा उपस्थित हुन गएका उम्मेदवार र विद्यार्थी नेताहरुलाई समेत प्रहरीले बाहिर निकालिदिएको विद्यार्थी नेता सुधिर पटेलले जानकारी दिए।
"क्याम्पस प्रमुख र निर्वाचन समितिले सत्ताधारी विद्यार्थी संगठनलाई जिताउन मतगणनामा खेल गरेका छन्," पटेलको आरोप छ। त्यस्तै, पत्रकारहरूलाई मतगणना स्थल प्रवेशमा रोक लगाइएको भन्दै उनले मतगणनाको निष्पक्षतामाथि थप प्रश्न उठाएका छन्।
पत्रकारहरूमाथि रोक, निष्पक्षतामाथि प्रश्न
मतदानका बेला विवाद बढेको भन्दै पत्रकारहरूको प्रवेश रोकिएको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले बताएका छन्। "मंगलबार मतदानका बेला पत्रकारहरूले अनेक विवाद सिर्जना गरे। त्यसैले क्याम्पस परिसरमा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको हो," सिंहले भने।
तर, विद्यार्थी संगठनहरूले यसलाई प्रशासनको नियोजित खेल भन्दै विरोध जनाएका छन्। "सञ्चारकर्मीहरूलाई बाहिर राखेर प्रशासनले के लुकाउन खोजेको हो?" विद्यार्थी नेताहरू प्रश्न गर्छन्।
१६ वर्षपछि निर्वाचन, तर प्रक्रिया विवादास्पद
ठाकुरराम क्याम्पसमा पछिल्लो पटक २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। त्यसपछि १६ वर्षसम्म निर्वाचन हुन सकेको थिएन। यसपटक १०,७२९ मतदातामध्ये ४० प्रतिशत अर्थात् ४,२९९ मत खसेको थियो। निर्वाचनमा विभिन्न दलका विद्यार्थी संगठन तथा स्वतन्त्र समूह गरी १४ जना सभापतिको प्रतिस्पर्धामा छन्।
कहिले सुरु हुन्छ मतगणना?
बिहान १० बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढ्दा विद्यार्थीहरू आक्रोशित छन्। प्रमुख निर्वाचन अधिकृत सिंहले विद्यार्थी संगठनका प्रतिनिधिहरू आउनासाथ मतगणना सुरु गर्ने बताएका छन्। तर, विद्यार्थी नेताहरू प्रशासनले अनावश्यक बहाना बनाएर मतगणना लम्ब्याएको आरोप लगाइरहेका छन्।
निर्वाचन प्रक्रिया ढिलो गरिँदै गर्दा निष्पक्षतामाथि गम्भीर आशंका पैदा भएको छ। अब प्रशासनले निष्पक्षता कायम राखेर तत्काल मतगणना सुरु गर्छ कि पुनः कुनै अर्को बहाना खोज्छ भन्ने प्रश्न उब्जिएको छ।