नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याहरूको समाधानका लागि लोकतान्त्रिक स्थायित्व आवश्यक रहेको बताएका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको शासन प्रणालीलाई ‘तीन टाउकारूपी वैद्य’ को संज्ञा दिँदै देशलाई सुधार्न अब ‘शल्यक्रिया’ आवश्यक भएको बताएका छन्। “वैद्यहरू जडीबुटी पिलाउँदै छन्, तर समस्या समाधानका लागि अब शल्यक्रिया नै गर्नुपर्छ। यी वैद्य र झाँक्रीहरूले त्यो गर्न सक्दैनन्,” उनले भने।
संविधान जारी भएको नौ वर्षमा ११ सरकार फेरिएको उल्लेख गर्दै भट्टराईले राजनीतिक अस्थिरता नै मुलुकको प्रमुख समस्या भएको बताए। "तीनवटा टाउकाले पालैपालो सरकार चलाइरहेका छन्। सरकारमा हुँदा समृद्धि आएको दाबी गर्छन्, बाहिरिनासाथ सबै खत्तम भयो भनेर कराउँछन्। जनता रणभुल्लमा छन्," पूर्वप्रधानमन्त्री भट्टराईले भने।
उनले नेपालमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने आवश्यकता औंल्याए। "एउटा सरकारले कम्तीमा पाँचदेखि दस वर्ष एउटै नीति लागू गर्न सक्ने हुनुपर्छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीमा जान ढिला गर्नुहुँदैन," उनले जोड दिए।
भट्टराईले यहाँका तीन प्रमुख दलका नेतालाई छिमेकीहरूले बेला–बेलामा उचाल्ने आरोप समेत लगाए। “छिमेकीले पनि सुँड घुसारेर कहिले झाँक्रीलाई, कहिले वैद्यलाई उचाल्ने गरेका छन्,” उनको टिप्पणी थियो।