माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान वीरगञ्जका विभिन्न स्थानको अवलोकन गर्दै स्थानीय जनतासँग भेटघाट गरेका छन्। बिहानको समयलाई उपयोग गर्दै उनले शीर्ष नेताहरूको टोलीसहित मर्निङ वाक गर्दै वीरगञ्जको जनजीवन अवलोकन गरेका हुन्।
बिहानको भ्रमण: विभिन्न स्थानमा अवलोकन र भेटघाट
प्रचण्डको टोलीले गण्डक बहुअरीबाट मर्निङ वाक सुरु गर्दै घण्टाघर, मकालु चोक, आदर्शनगर चोक, घडिअर्वा पोखरी र माईस्थान चोकको अवलोकन गर्दै स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्यो। स्थानीय नागरिकहरूसँग अन्तरक्रिया गर्दै उनले जनताको समस्याबारे जानकारी लिएका थिए।
चर्चित चिया पसलमा चियापान
मर्निङ वाककै क्रममा उनले वीरगञ्जको चर्चित बब्लु टी पसलमा चियापान गरे। सो अवसरमा उनले स्थानीय व्यापारी तथा नागरिकहरूसँग अनौपचारिक कुराकानी गर्दै वीरगञ्जको आर्थिक तथा विकाससम्बन्धी विषयहरूबारे बुझ्ने प्रयास गरेका थिए।
मेयर सिंहद्वारा स्वागत, समस्या बुझे
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि प्रचण्डलाई स्वागत गर्दै शहरको प्रमुख समस्या तथा आवश्यक पूर्वाधार विकासका विषयमा जानकारी गराएका थिए।
अन्य कार्यक्रमहरू
प्रचण्ड आज बिहान ९:३० बजे पानीटंकीस्थित डायमन्ड पार्टी प्यालेसमा आयोजना हुने नागरिक संवाद तथा पत्रकार सम्मेलनमा सहभागी हुनेछन्। त्यसपछि विन्दवासिनी गाउँपालिकामा सहिद मुकेश चौरसियाको परिवारसँग भेटघाट गर्दै भहुअर्वाभाठामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि उनी ठोरीको आठघरेमा अर्को जनसभालाई सम्बोधन गरी चितवन प्रवेश गर्नेछन्। उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार यो भ्रमण स्थानीय जनतासँगको प्रत्यक्ष संवाद, विकासका प्राथमिकता पहिचान तथा पार्टी संगठन सुदृढीकरणका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ।